शिक्षक महासंघद्वारा प्रदेश ५ को सामाजिक विकास मन्त्रालय घेराउ

बुटवल । नेपाली शिक्षक महासंघले प्रदेश ५ को सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ । 

शुक्रवार प्रदेश ५ को विद्यालय बन्द गराएर शिक्षक तथा कर्मचारीले मन्त्रालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् । 

बिहान १० बजे बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शनसहित मन्त्रालय पुगेका शिक्षक तथा कर्मचारीले केही बेर नाराबाजीसमेत गरे ।

शिक्षक महासंघले विभिन्न २६ सूत्रीय माग राखेर सरकारलाई पूरा गर्न दबाब दिएको छ । 

महासंघले स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने साथै तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रबन्ध गरी स्थायी बनाउने प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकलाई स्थायी गर्न प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

महासंघको प्रदेश संयोजक प्रेम भण्डारीका अनुसार आफूहरुको मागप्रति सरकारले वेवास्ता गरेकाले अझ सशस्त्र रुपमा आन्दोलन गर्ने बताए । 

माग सम्बोधनका लागि सरकारलाइ दबाब दिन विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरिएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?