जुम्लामा १७ करोडको स्याउ निर्यात

जुम्ला । जुम्लामा यस वर्ष १७ करोडको स्याउ निर्यात गरिएको छ । 

आर्थिक वर्ष ०७५-०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार ४०० टन स्याउ उत्पादन भएकामा दुई हजार ३ सय टन स्याउ निर्यात भइसकेको छ । आठ वटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करीब ३ सय व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले कर लिएको छ । 

व्यापारीले सरदरमा प्रतिकिलो रु ५० का दरले कृषकबाट स्याउ खरीद गरेका हुन् । यहाँ उत्पादन भएका स्याउ काठमाडौं, सुर्खेत, विराटनगर, पोखरालगायत देशका प्रमुख शहरमा निर्यात गरिन्छ । 

यस वर्ष प्रतिकूल मौसमका कारणले स्याउ उत्पादन सोचेअनुसार नभएको स्याउ सुपरजोनका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले बताए । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाको तीन हजार ४५० हेक्टर जमीनमा स्याउ खेती गरिन्छ । 

गत वर्ष तीन हजार ७ सय टन स्याउ निर्यात भएको थियो । जुम्लाका कूल १८ हजार घरधुरीमध्ये करीब १४ हजार घरमा स्याउका बगैँचा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?