विश्वकप फुटबलमा फाइनलसम्मको समीकरण पूरा भइसकेको छ । १८ डिसेम्बर अर्थात् पौष ३ गते आइतबार विश्वकपको फाइनल खेल हुँदैछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् ।
सेमीफाइनलको खेलमा जित हात पार्न अर्जेन्टिनाका लागि मेस्सीले एक गोल र जुलियन अल्भारेजले २ गोल गरेका थिए । मेस्सीले पेनाल्टीमार्फत गोल गर्दा अल्भारेजले मेस्सीको एसिस्टमा गोल गर्न सफल भएका थिए । उसो त यतिबेला मेस्सीसँगै अल्भारेजको फुटबल दुनियाँमा चर्चा छ । भने, अल्भारेजलाई भविष्यको स्टारका रुपमा पनि हेर्न थालिएको छ ।
मेस्सीको उत्तराधिकारी बन्न सक्लान् त अल्भारेज ?
फ्रान्सविरुद्धको खेल नै आफ्नो देशका लागि अन्तिम खेल हुने अर्जेन्टिनाका कप्तान ३५ वर्षीय मेस्सीले घोषणा गरिसकेका छन् । त्यसैले मेस्सीपछि उनको बिरासत कसले थाम्ला भन्ने चासो पनि छाएको छ । सेमीफाइनलमा क्रोएसियासँगको खेलले अल्भारेजलाई मेस्सीको उत्तराधिकारीका रुपमा चर्चा गर्न थालेका छन् ।
२२ वर्षीय स्ट्राइकर अल्भारेजले विश्वकपमा अर्जेन्टिनाका लागि प्रमुख रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको थिएन र उनले साउदी अरेबियासँगको हार र मेक्सिकोमाथिको जितमा मात्र वैकल्पिक खेलाडीको रुपमा उपस्थिति देखाएका थिए ।
म्यानचेस्टर सिटीले सन् २०२२ को जनावरीमा रिभर प्लेटबाट अल्भारेजलाई १७ मिलियन युरोमा अनुबन्ध गरेको थियो । अल्भारेजले सिटीसँग साढे पाँच वर्षको सम्झौता गरेका छन् ।
यो सिजनमा उनले १२ प्रिमियर लिग खेलेका छन् । १२ खेल सिटीका लागि खेलेका अल्भारेजले तीन गोल गरेका छन् । पूर्व अर्जेन्टिना र सिटी डिफेन्डर पाब्लो जाबालेटाले अल्भारेजको कलालाई अविश्वसनीय भएको बताएका छन् । अल्भारेजले आठ अन्तर्राष्ट्रिय खेलमा सात गोल गरेका छन् ।
मेस्सीका फ्यान अल्भारेज !
सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियामाथि जित निकालेपछि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भयो । त्यो पनि १० वर्षअघिको तस्बिर । जतिबेला यतिबेला चर्चामा रहेको अल्भारेज मेस्सीका डाइहार्ड फ्यान थिए । फ्यानका रूपमा उनले मेस्सीसँग तस्बिर खिचेका थिए ।
जतिबेला अल्भारेज १२ वर्षका थिए । तर, समय बित्दै जाँदा जुलियन अल्भारेज मेस्सीसँग ड्रेसिङ रुम सेयर गर्न सफल भए । मेस्सीलाई आफ्नो विश्वकप जित्ने सपना साकार गर्न उनी मेस्सीको सहयात्री बने ।
फाइनलमा पनि चल्ला मेस्सी र अल्भारेजको जादु ?
अर्जेन्टिनी फ्यानहरुले सेमीफाइनलमा मेस्सी र अल्भारेजको ट्युनिङ जसरी मिल्यो त्यसरी नै आगामी फाइनलमा पनि मिलोस् भन्दै प्रार्थना गरिरहेका छन् । जसरी सेमीफाइनलमा मेस्सीको एसिष्टमा अल्भारेजले गोल गरे त्यही तादाम्यता फाइनलमा पनि मिल्छ भन्नेमा धेरैजसो विश्वस्त छन् ।
मेस्सीलाई अन्तिम अवसर
फाइनल खेलमा अर्जेन्टिनाले जित हात पारेको खण्डमा मेस्सी सर्वकालीन खेलाडीका रुपमा स्थापित हुनेछन् । किनभने करिब १२ वर्षदेखि फुटबल जगतमा मेस्सीले आफ्नो जीवन बिताइरहेका छन् । उनले विश्वकपको उपाधि बाहेक विश्वका सबै उपाधिहरुलाई आफ्नो पोल्टामा पारिसकेका छन् ।
रोनाल्डो र मेस्सी एकै समयका दुई ठूला फुटबल हस्ती हुन् । पोर्चुगलका कप्तान रोनाल्डोले पनि मेस्सीले जस्तै विश्वका सबै उपाधिहरु आफ्नो नाममा ल्याएका छन् । तर, रोनाल्डोको विश्वकप चुम्ने सपना भने मोरोक्कोले चकनाचुर पारेको छ । आफ्नो अन्तिम विश्वकप खेलिरहेका रोनाल्डोको देश पोर्चुगललाई मोरोक्कोले क्वाटरफाइनलमा १–० गोल अन्तरले पराजित गरेको थियो । यता मेस्सीको टिम फाइनलमा पुगेको छ । यदि फाइनलमा फ्रान्सलाई हराएर अर्जेन्टिनाले विश्वकप जितेको खण्डमा मेस्सीलाई इतिहास रच्ने गतिलो अवसर बन्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया