काठमाडौं । मोरक्कोलाई हराउँदै क्रोएसियाले कतारमा जारी फिफा विश्वकप २०२२ को तेस्रो स्थान हात पारेको छ । शनिवार विश्वकपको तेस्रो स्थानका लागि कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हात पारेको हो ।
क्रोएसियाको जितका लागि खेलको ७ औँ जोस्को ग्वार्डियोल शुरुवाती गोल गरे भने खेलको ४२ औँ मिनेटमा मिसलाभ ओर्सिकले अर्को गोल थपे । यता, मोरक्कोका लागि भने अचरफ दारीले क्रोएसिया विरुद्ध खेलको ९औँ मिनेटमा बराबरी गोल फर्काए ।
अचरफ दारीको गोलसँगै थप रोमाञ्चक बनेको खेलमा मोरक्कोका तर्फबाट अन्य कुनै गोल हुन नसक्दा खेल क्रोएसियाको पोल्टामा परेको हो । साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० तथा पहिलो पटक सेमिफाइनलमा पुगेको मोरक्को साविकको विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेका थिए ।
भालि आइतवार पौने ९ बजे हुने फाइनल खेलमा दुई बलिया प्रतिद्वन्दी अर्जेन्टिना र फ्रान्सले पहिलो र दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया