काठमाडौं । साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर २६ हजार छ सय ६१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १५ करोड ७१ लाख ५५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारपछि सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ६८ दशमलव ८७ र निर्जीवन बीमा समूह ६७ दशमलव ०८ अङ्कले घटेको छ ।
त्यस्तै बैंकिङ समूह १९ दशमलव ५८, वित्त समूह ४३ दशमलव ९३, होटल तथा पर्यटन समूह २५ दशमलव ३५, जलविद्युत् समूह ४० दशमलव ५३ र जीवन बीमा समूह ४० दशमलव ३६ अङ्कले घटेको छ । वित्त समूह ५६ दशमलव २६, व्यापार समूह चार दशमलव ७१, म्युचुअल फण्ड समूह शून्य दशमलव ११ र अन्य समूह ३२ दशमलव ३० अङ्कले घटेको नेप्सेले जनाएको छ ।
आज सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर २६ दशमलव १० अङ्कले बढेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार भएका शेयर संख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कृषि विकास बैंक लिमिटेडको रु छ करोड २५ लाख ११ हजार चार सय ३६ बराबरको दुई लाख एक हजार नौ सय ३९ कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया