राष्ट्र बैंकद्वारा निर्यात अनुदान सम्बन्धी व्यवस्थामा संसोधन

लोकपथ
14
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्यात अनुदान सम्बन्धी व्यवस्थामा संसोधन गरेको छ । आइतवार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

परिपत्र मार्फत राष्ट्र बैंकले भनेको छ, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ को केही बुँदाहरुमा संसोधन गराएकोले सोही बमोजिम गर्न गराउन यो निर्देशिका जारी गरिएको छ । निर्देशिका  अनुसार निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन) २०७५, लाई संसोधन गरी निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ लागू गरेको हुँदा सोही बमोजिम संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउनु पर्ने छ ।

राष्ट्र बैंकका अनुसार निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संंशोधन) कार्यबिधि २०७९ तथा परिपत्रमा उल्लेख भएको प्रावधान तथा प्रकृयाहरु पुरा नभई प्राप्त भएका निवेदनहरुको शोधभर्ना गरिने छैन । परिपत्र अनुसार राष्ट्र बैंकमा प्राप्त भएका रितपुर्वक निवेदनहरुको शोधभर्ना गर्दा नेपाल सरकार, अर्थमन्त्रालयले यसै प्रयोजनको लागि राष्ट्र बैंकलाई उपलब्ध गराएको रकमले खामेसम्म १५ दिनभित्रै रकम भुक्तानी हुने छ ।

परिपत्र अनुसार सरकारले निर्यात अनुदानको लागि तोकेका बस्तुहरुको उत्पादनमा कम्तीमा ५० प्रतिशत र ति वस्तुहरुको उत्पादनमा मुल्य अभिवृद्धिमा कम्तीमा ३० प्रतिशत नगद अनुदान उपलब्ध हुने छ । ति वस्तुहरुको निर्यात गरेमा भने कुल निर्यात मुल्यको पाँच प्रतिशतले हुन आउने रकम नगद अनुदान दिईने छ । राष्ट्र बैंकका अनुसार अनुदान प्रदान गर्ने सम्बन्धी कार्यको अनुगमन, मुल्यांकन तथा समन्वय गर्न वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवको संयोजकत्वमा अर्थमन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतका निकायहरुको एक समिती गठन गरिने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकका अनुसार निर्यातमा अनुदान प्रदान गरिने वस्तुहरुमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला, प्रशोधित पत्थर तथा सारयुक्त तेल, अल्लोबाट उत्पादित सामानहरु, प्रशोधित पिउने पानी मिनरल वाटर, प्रशोधित महत, प्रशोधित तथा अर्ध प्रशोधित अलैंची लगायतका वस्तुहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?