पहाडमा मूल्य बढ्यो

काठमाडौँ । पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीतिमा वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव १ प्रतिशत रहेको छ । 

यस्तै तराईमा ४ दशमलव ३ प्रतिशत, हिमालमा ४ दशमलव २ प्रतिशत र काठमाडौँ उपत्यकामा ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.० प्रतिशत, ३.६ प्रतिशत, ५.१ प्रतिशत र २.३ प्रतिशत रहेको थियो ।    यस्तै नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति चालू आवको तीन महीनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत र भारतको ३ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३ दशमलव १ प्रतिशत र भारतको ३ दशमलव ६ प्रतिशत रहेको थियो । 

यस्तै थोक मुद्रास्फीति २०७५ असोज महीनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९ दशमलव २ प्रतिशत रहेको छ । पेट्रोलियम पदार्थ, आधारभूत धातु, निर्माण सामग्री तथा खाद्य एवं पेय पदार्थको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको बैंकले जनाएको छ । 

गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा ५ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ५ दमलव २ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको यातायात, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति एवं घरायसी उपयोगिता तथा सेवालगायतका उप–समूहका वस्तु तथा सेवाको मूल्यमा वृद्धि भएकाले समग्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको छ । 

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३ दशमलव ४ प्रतिशत छ । अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति शून्य दशमलव ५ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्यान्न तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा, घ्यू तथा तेल एवं सुर्तीजन्य पदार्थलगायतका उपसमूहका वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो । 

उपभोक्ता मुद्रास्फीति २०७५ असोज महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत छ । विसं २०७४ असोजमा यस्तो मुद्रास्फीति ३ दशमलव १ प्रतिशत थियो । खासगरी खाद्यान्न, तरकारी, माछामासु र पेय पदार्थको मूल्य तथा घरभाडा बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको हो । 

यसैगरी समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६ दशमलव ६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?