काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमसँग लिखित जवाफ मागेको छ ।
वायुसेवा निगमले करिब २४ अर्बको वाइबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे समितिले निगमसँग २१ प्रश्नको लिखित जवाफ माग गरेको हो ।
मूल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ ।
१. खरिद प्रस्ताव आह्वान गर्दा एयरबस ३३०–२०० भनेर किटान गरी बोइङ र एयरबसका अन्य भेरियन्टहरूलाई सहभागी हुनबाट किन रोकिएको ?
२. खरिद गरिएको जहाज पुरानो हो कि नयाँ ?
३. दुई जहाजबाट सहजै १० मिलियन डलर अपचलन गर्ने ठाउँ बनाइयो किन ?
४. खरिदबिक्रीका क्रममा निगमले नर्दन रोज र युरोपको नर्दन रोजले सिधै एयरबसको खातामा नहाली न्युयोर्कमा रहेको जर्मन बैंकमार्फत पैसा पठाउने प्रबन्ध किन गरिएको हो ?
५. ३ वटा कम्पनीले नयाँ जहाज दिने प्रस्ताव गर्दा पनि नयाँ जहाज नियमअनुसार निर्माता कम्पनीहरूसँग किन्नपर्नेमा किन पुरानो जहाज नै ल्याएको हो ?
६. संसारभर वस्तु तथा सेवा खरिदको सम्झौता गर्दा प्रस्तावकले पेस गरेको मूल्य घटाउन खरिदकर्ताले नेगोसिएसन गर्ने प्रचलन रहेकोमा निगमको नेगोसिएसन कमिटीले किन उल्टै प्रतिजहाज करिब ५ मिलियन डलर बढायो ?
७. आयरल्यान्डको डब्लिनमा दर्ता भएकोहाइफ्लाई एक्स आयरल्यान्ड नामक कम्पनीको उद्देश्य हवाईजहाजका पार्टपुर्जा बिक्री गर्ने हो । किन यस्तो कम्पनीलाई बिक्रेता बनाएर जहाज किनियो ?
८. निगमले जहाज आपूर्तिको टेन्डरमा एयरबसको ३३०–२०० सेरिजका जहाज मागेको तर कमिसन र मूल्यान्तर गरेर एयरबस ३३०–२४३ सेरिजका जहाज ल्याइयो बुझिन्छ । वास्तविकता के हो ?
९. न्यारोबडी र वाइडबडी विमान खरिद गर्दा एकै प्रक्रिया किन अपनाइएन ?
१०. स्पेसिफिकेसन तयार गर्दा एक हजार घण्टासम्म उडेको विमान भनेर किनसर्त राखिएको ?
११. विमान निर्माण कम्पनीसँग किन सिधैखरिद नगरिएको ?
१२. विमान कम्पनीहरूबीच प्रतिस्पर्धा किन गरिएन ?
१३. वाइडबडी विमानको मर्मत, आवश्यक तालिम, पार्टपुर्जा, सप्लाई र वारेन्टीजस्ता सर्तहरूको जिम्मा कसले लिएको छ ?
१४. दुवै विमानमा १२–१२ टन अधिकतम उडानभार घटाइए पनि मूल्य किन घटाइएन ?
१५. सिधै कम्पनीसँग नलिएर अन्य कम्पनीसँग खरिद गरेको अवस्थामा इन्जिनको वारेन्टी कसले दिएको छ ?
१६. हवाईजहाज खरिदमा उत्पादकहरूले १० प्रतिशत क्रेतालाई कमिसन दिने गर्छन् भनिन्छ, तर २४ अर्बको खरिदमा नेपाल वायुसेवा निगमलाई आउनुपर्ने कमिसन२ अर्ब ४० करोड कता गयो ?
१७. कमिसन, अधिकतम उडानभार कटौती र मूल्यान्तर गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिन्छ, यसमा निगमको भनाइ के छ ?
१८. यी दुई जहाजको स्वामित्व अरू कसैमा छ कि निगममा छ ? अन्य विमान खरिद र यसको प्रमाणपुर्जा मेल खान्छ ?
१९. जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्टस्को वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको किन ?
२० दुवै जहाज काठमाडौं उत्रेर व्यापारिक उडान थाल्दा पनि निगम व्यवस्थापनले एक पनि नयाँ गन्तव्य थप्न सकिरहेको छैन । पहिले २ वटा बोइङले धानेका क्षेत्रमा यिनलाई उडाउनुपर्ने बाध्यता किन ?
२१. निगम झन्डै ३३ अर्ब बढी ऋणमा डुबेको छ, निगमको दीर्घकालीन ऋण ३९ अर्बभन्दा माथि छ । घाटामा गएपछि निगमले जारी गरेको श्वेतपत्रमा ३२ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी देखाएको छ । यस्तो अवस्थाबाट निगमलाई कसरी बचाउने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया