‘हामीले फिल्मको बाहिरी आवरणमा लगानी गरिरहेका छौँ, लगानी कथामा हुनुपर्थ्यो’

काठमाडौं । नेपाली सिनेमा उद्योगमा सम्भावना देखाएका निर्देशकमा गनिन्छन् दिनेश राउत । उनले निर्देशन गरेका नोभेम्बर रेन, क्लासिक लगायतका लभस्टोरी फिल्मले राम्रै चर्चा कमाए । गएको वर्ष राउतले निर्देशन गरेको चलचित्र ‘पर्व’ ले मिश्रित प्रतिक्रिया पायो । यद्यपि फिल्मको मेकिङको भने धेरैले तरिफ गरे । निर्देशक राउत स्वयंलाई पनि यसको मेकिङ पक्ष चित्त बुझेको थियो ।

यद्यपि, पछि आफैले फिल्म हेर्दा बनेकोभन्दा अझ राम्रो बनाउन सकिन्थ्यो कि भन्ने चाहिँ लागेको थियो उनलाई ।

‘म आफ्नै फिल्म फेरि दोहोराएर हेर्न सक्दिन किनकि मैले त्यहाँ झन् धेरै कमजोरी भेट्छु, यसरी अझै राम्रो बनाउन सकिन्थ्यो भन्ने लाग्छ ।’, राउत भन्छन् ।

उनका अनुसार फिल्म हलमा कति दर्शक आए भन्दा पनि कति दर्शकले फिल्म रुचाए, त्यो प्राप्ति हो । फिल्म व्यवसायको माध्यम हो । व्यापारकै लागि फिल्म बनाउने हो तर व्यापार मात्र होइन, फिल्मले केही न केही म्यासेज पनि दिनुपर्छ ।

‘म आफ्ना फिल्ममा सकभर केही म्यासेज पनि होस् भन्ने चाहन्छु, ‘प्रसाद’ पनि यस्तै फिल्ममध्ये एक हो, सोसल ड्रामा भएकाले पनि यो फिल्मलाई अझै रियालिस्टिक बनाउन खोजेका छौँ ।’

नेपाली सिनेमा मेकरले अझै पनि राम्रा फिल्म दिन नसकेको भन्दै चौतर्फी गुनासो आइरहन्छ । केही निर्देशकलाई समीक्षक तथा दर्शकले राम्रो मेकर त भन्छन् तर उनै निर्देशकले अर्को फिल्ममा ‘कमालको काम’ गर्न सक्दैनन् । निर्देशक राउत पनि फिल्म राम्रो बनाउन नसकिएको आरोपलाई सीधै स्वीकार्छन् ।

‘हुन त एकजनाले चाहेर मात्र फिल्म राम्रो बनाउन सकिँदैन, मुख्य कुरा त हामीमा स्किृप्टमा नै समस्या छ, हामीले फिल्मको बाहिरी आवरणमा खर्च गरिरहेका छौँ,’ राउत अगाडि थप्छन्, ‘खासमा लगानी फिल्मको कथाका लागि हुनुपर्ने हो, तर हामी कथा बलियो नबनाई कलाकार या अन्य कुरामा लगानी गरिरहेका छौँ ।’

राउत मुख्य समस्या त हाम्रो स्किृप्टमै भएको बताउँछन् । नेपालमा पछिल्लो समय राम्रा स्किृप्टको खोजी हुन थालेपनि आफूले समेत स्किृप्टमा राम्रो गर्न नसकेको स्वीकार्छन् ।

‘प्रसाद’ का लागि वर्षौं समय खर्चेका राउत फिल्मको ट्रेलरकै कारण पनि चर्चामा छन् यतिबेला । उनको कामको तारिफ भइरहेको छ । तर, कमेडी फिल्मको बजारको बेलामा यो फिल्म नचल्ने हो कि भनेर पनि कतिपयले अड्कल काट्ने गरेका छन् । ‘फिल्म बनाएपछि प्रतिफलको आशा त हुन्छ नै, किनकि फिल्म भनेको पनि एक हिसाबले व्यापार नै हो, हामीले कलात्मक रुपमा यो फिल्म बनाएकाले दर्शकले रुचाउनुहुन्छ कि भन्ने लागेको छ ।’, राउत भन्छन् ।

आशालाग्दा फिल्म निर्देशन गरिरहेका राउत गीतकार पनि हुन् । पछिल्लो समय उनले लेखेको गीत ‘काले दाइ’ लोकप्रिय छ ।

लभस्टोरीबाट थ्रीलर र थ्रीलरबाट ‘प्रसाद’ जस्तो सोसल ड्रामाको फिल्म निर्देशन गरेका राउत कथाले ‘फिल’ ग–यो भने उक्त कथामा फिल्म निर्देशन गर्ने बताउँछन् ।

‘म फिल्म त बनाउँछु तर अरुका फिल्म कम हेर्नेमा पर्छु, जुन कथाले मलाई फिल्म भन्न उत्प्रेरित गर्छ, त्यही कथालाई आफ्नो हिसाबमा फिल्म बनाउँछु,’ राउत भन्छन्, ‘यदि मलाई लभस्टोरी नै गर्छु भन्ने थियो भने त्यस्तै कथा रोज्थेँ होला तर ‘पर्व’ बनाएपछि मलाई मैले अरु जानरामा पनि काम गर्न सक्ने रहेछु भन्नेमा विश्वास बढ्यो ।’

फिल्म ‘प्रसाद’ मा भने आफूले समाजको वास्तविकतालाई उतार्न खोजेको कुरालाई दोहो–याउँछन् । ‘फिल्मको गीत राम्रो छ, दर्शकमाझ फिल्मप्रतिको आशा पनि राम्रो छ, हामीले आफ्नो तर्फबाट राम्रो दिने प्रयास गरेका छौँ ।’, राउत सुनाउँछन् ।

तस्वीर: अर्घेलो थापा (अनिल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?