हेमा मानन्धरले भोगेको त्यो घटना, जसले ‘नेप्लीज फेसन होम’ खोल्न झक्झकाइरह्यो

हेमा मानन्धर ‘नेप्लीज फेसन होम’ तथा ‘वुमन्स एजुकेशन एण्ड स्किल डेभ्लपमेन्ट अर्गनाइजेसन’ की संस्थापक अध्यक्ष हुन् । उनी फेसन क्षेत्रमा सक्रिय छिन् । इभेन्ट आयोजना गर्छिन् । समाजसेवालाई पनि उत्तिकै समय दिन्छिन् । 

पहिलो पटक हेमासँग भेट्दा प्रायलाई उनी कडा, जिद्दी र रिसाहा नै लाग्छ । तर, सङ्गत गर्दै जाँदा उनको व्यवहार र व्यक्तित्त्वले सबैलाई प्रभाव पारि नै हाल्छ । बाहिर बाट कडक भित्रबाट नरम हेमा ठ्याक्कै नरिवल जस्तै छिन् । आफूलाई नजिकबाट चिन्ने, बुझ्नेहरुले पनि ‘नरिवल’ भन्ने गरेको उनले बताइन् । ‘राम्ररी नबुझेकाहरुले हिटलर भन्लान् तर, मलाई बुझेकाहरुका लागि म नरिवल नै हो ।’ मुस्कुराउँदै उनले भनिन् । मुस्कुराउँदै गर्दा उनको डिम्पल पनि गालासँगै मुस्कुरायो ।

मध्यम वर्गीय परिवारकी हेमा पढाइमा पनि औसत विद्यार्थीकै समूहमा पर्थिन् । पारिवारिक व्यापारका कारण दोलखाबाट काठमाडौं, काठमाडौंबाट दिल्ली फेरि दिल्लीबाट काठमाडौं गर्दा उनको बाल्यकाल र पढाइ दुवै अस्थिर रह्यो । उनलाई पढ्न यतिसम्म अल्छी लाग्थ्यो कि कहिलेकाहीँ परीक्षामा ०.५ अङ्क आउने उनले बताइन् । ‘अगाडिको ० लाई मेटाएर ५ को पछाडि ० थपेर ५० बनाउँथें तर, बाबाले थाहा पाइहाल्नुहुन्थ्यो’ बाल्यकालको रोमाञ्चक किस्सा सम्झेर मज्जाले हाँस्दै हेमा थप्छिन्, ‘अनि बेस्सरी पिट्नुहुन्थ्यो ।’ 

आफ्नो मातृभाषा बोल्न लजाउनु, आफ्नो जातको पहिरनमा हिँड्न हिच्किचाउनु, सामान्य रीतिरिवाज र परम्पराका बारेमा समेत ज्ञान नहुनु अहिलेको पुस्ताको ठूलो समस्या भएको उनको ठम्याइ छ ।

पढाइमा रुचि नराख्ने, निष्फिक्री भएर मनमा लागेको कुरा बोली हाल्ने, गर्न मन लागेको काम गरिहाल्ने भएकाले घरका सबैले उनलाई ‘फटाहा र उत्ताउली’छोरीका रुपमा लिन्थे । तर, उनले आफ्नो मनमानी गर्न कहिल्यै छोडिनन् । आफूलाई मन लागेको सही काम गर्दा कसले के भन्ला भन्ने डर कहिल्यै नलागेको र अझै पनि नलाग्ने उनले सुनाइन् । बरु, परिवार र समाजको डरले दबिएर, लजाएर, हिच्किचाउँदै बसेका युवतीहरुको क्षमता अभिवृद्धि गर्न वर्षौं नै मिस लिटिल नेवा, मिस नेवा आदिजस्ता सुन्दरी प्रतियोगिता र विभिन्न तालिमहरु आयोजना गर्दै आएको लोकपथलाई सुनाइन् ।

हेमालाई संस्कृतिप्रति विशेष चासो छ । हरेक देशको पहिचान त्यहाँको संस्कृतिले झल्काउँछ भन्ने उनको बुझाइ छ । त्यसैले उनी चाहन्छिन् अहिलेका र अब आउने जेनेरेसनले पनि आफ्नो संस्कृति चिनुन् । त्यसलाई राम्रोसँग बुझुन् र जगेर्ना गरुन् । 

हरेक वर्ष नेवार जातिका बालबालिका तथा युवतीहरुका निमित्त सुन्दरी प्रतियोगिता आयोजना गर्नुको उद्देश्य पनि यही भएको उनले बताइन् ।

आफ्नो मातृभाषा बोल्न लजाउनु, आफ्नो जातको पहिरनमा हिँड्न हिच्किचाउनु, सामान्य रीतिरिवाज र परम्पराका बारेमा समेत ज्ञान नहुनु अहिलेको पुस्ताको ठूलो समस्या भएको उनको ठम्याइ छ ।

आफ्नै जीवनमा भएको एक घटनाले उनलाई संस्कृतिप्रति यति सचेत बनाएको हो । हेमा आफ्नी छोरीसँग पोखरा घुम्न गएकी थिइन् । पोखरामा गुरुङ बस्तीका युवतीहरुले आफ्नो जातको पोसाक लगाएको देख्नासाथ उनकी छोरीले औंला तेर्साउँदै भनिन्, ‘मामु, ऊ हेर्नु नाँच्दा लगाउने लुगा लगाको ।’

आफ्नो मौलिक पहिरन नाँच्दा मात्रै लगाउने लुगाका रुपमा सीमित भएको बुझेर हेमाले छोरीलाई सम्झाइन्, ‘नानु, त्यो नाँच्दा लाउने लुगा होइन, उनीहरुको जातीको पहिचान झल्काउने लुगा हो ।’
छोरीले यो कुरा स्वीकारिनन् । उनको बालमस्तिष्कमा त्यस्तो पोसाक नाँच्दा मात्र प्रयोग हुन्छ भनेर गाडिसकेको थियो । हेमाको मस्तिष्कमा पनि तत्कालै एउटा योजना पलायो । जात, संस्कृति, रीतिरिवाज, परम्पराका बारेमा बालबालिकालाई सानैदेखि सिकाउने । इभेन्ट आयोजना गर्ने प्रेरणा पनि यहीँबाट पाएको उनले लोकपथलाई बताइन् ।

उनको संस्थाले बालबालिका तथा युवतीहरुलाई संस्कृति सिकाउँछ तर, त्यही संस्कृतिले कोरिदिएको सीमा वा बन्देजबाट माथि उठ्न पनि उत्तिकै प्रोत्साहन गर्छ । आफै नेवार समुदायको भएकाले यहाँ छोरीलाई शान्त, सुशील हुन सिकाइन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ । यो सिकाइ नेवार समुदायमा मात्र नभएर नेपालका अन्य समुदायमा पनि छ । छोरीलाई शान्त र सुशील बनाउने नाममा कमजोर र निष्क्रिय बनाइरहेको सामाजिक मूल्यमान्यताको खुलेर विरोध गर्ने हेमा चाहन्छिन् हरेक छोरीले यसै गरुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?