काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती क्लबले दोस्रो जीत हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलवार भएको पहिलो खेलमा सरस्वती क्लबले ब्रिगेट ब्वाइज क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ३ मिनेटमा नै सरस्वतीका लागि बिनोद केसीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
७ औँ मिनेटमा ब्रिगेड ब्वाइजका अब्दु करिमले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । उनले कजिम बुशारीको पासलाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब एक-एक गोलको बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको सरस्वतीका लागि ५२ औँ मिनेटमा फ्रान्सिसले गोल गरे ।
निर्धारित समयसम्म ब्रिगेट ब्वाइजले पनि खेल फर्कने प्रयास गरेपनि सफल हुन सकेन। जीतपछि सरस्वती क्लबले ४ खेलबाट ६ अंक बनाएको छ । यसअघि सरस्वती क्लबले एक खेलमा जीत र दुईमा हार बेहोरेको थियो ।
त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मस्याङदी क्लबले विभागीय टिम शसस्त्र प्रहरीको ‘एपीएफ’ क्लब आमने-सामने हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया