माघ ७ मा ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन हुने

लोकपथ
28
Shares

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले माघ ७ गते ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन गर्ने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले यसबारेमा जानकारी गराएको हो ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनको आयोजना गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका दौड हुनेछन् । माघ ७ गते बिहान ७ बजे दशरथ रंगशालाबाट शुरु भएको म्याराथन सोही स्थानमा आइ समापन हुनेछ ।

कार्यक्रममा विभिन्न विधामा गरी ३ हजार व्यक्ति सहभागी हुने अनुमान आयोजकको छ । यो म्याराथन गत वर्ष आयोजना भएको रन फर प्रोटिन हाफ म्याराथनको दोस्रो एपिसोड हो । गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम हुनुभएको थियो भने पुरुषतर्फ तीर्थ पुन प्रथम हुनुभएको थियो ।

यो प्रतियोगितामा खलातर्फ पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्वीलचेयर विधाका दौडहरु समावेश गरिएका छन् । कार्यक्रमको पुरस्कार राशी करसहित १३ लाख ७६ हजार ६ सय ६६ रहेको छ । कर बाहेक भने १० लाख ३२ हजार ५ सय रहेको आयोजकले जनाएको छ ।

हाफ म्याराथनमा प्रथम पुरस्कार १ लाख, पाचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ । आफूले भाग लिएको विधामा दौड पूरा गर्ने प्रतियोगीलाई मेडलको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?