‘नाती जर्नेल’ले खुवाएको शपथमा गणतन्त्रवादी सांसदको एकै स्वर !’ (भिडियो रिपोर्ट)

लोकपथ
98
Shares

गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुले शपथ खाएका छन् । संघीय संसदको भवन नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथग्रहण गरेसँगै औपचारिक रुपमा कार्यकालको शुभारम्भ गरेका छन् ।

राप्रपाका सांसद पशुपति शमशेर जबराले प्रतिनिधिसभाका जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभा सदस्यहरुलाई शपथ खुवाए । राष्ट्रिय र आ–आफ्नै मौलिक पोषाकमा सजिएर सांसदहरु संसद भवन प्रवेश गरेका थिए । जो जो दृश्य हेर्न लायक देखिन्थ्यो ।

आगामी ५ वर्षका लागि जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक काम गर्ने भन्दै सांसदहरुले कसम खाए । संसदका २७५ प्रतिनिधि सभा सदस्यमध्ये आज २७१ सांसदको मात्र उपस्थिती रहेको थियो । माओवादी केन्द्रका सांसद रामकुमार राई, एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेपाली कांग्रेसकी माया राई र माओवादी केन्द्रका महिन्द्र राय यादव शपथ ग्रहणमा उपस्थित भएनन् ।

विविध कारणले शपथ ग्रहणमा उपस्थित हुन नपाएका सांसदहरुलाई उपयुक्त समयमा शपथ गराउने संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जानकारी गराएका छन् ।

नेपाल आफैँमा विविधताले भरिपूर्ण देश हो । जुन कुरा आज शपथका बेला पनि छर्लङ्ग देखियो । संसद भवन नियाल्दा हिमाल पहाड र तराई एकै ठाउँमा उपस्थित भएको भान हुन्थ्यो । साथै, विभिन्न समुदायबाट प्रतिनिधित्व गरेका कतिपय सांसदले आफ्नै भाषामा शपथग्रहण गरेका थिए । उसो त विभिन्न १४ भाषामा शपथग्रहण गराइएको थियो ।

विगतमा भन्दा यसपालीको संसदमा भिन्न परिदृश्य देखिएका छन् । केही नयाँ पार्टीको उदय र चर्चित अनुहारको संसदमा प्रवेशको दृश्य अलि रोचक नै देखिन्थ्यो ।

फेरि यता संसदको ज्येष्ठ र सबैभन्दा कम उमेरको सांसदबीचको उमेरअन्तर ५६ वर्षको छ । राप्रपाको समानुपातिकबाट सांसद बनेका राणा ८१ वर्षका भए भने यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी निशा डाँगीको उमेर २५ वर्षमात्र छ । डाँगी यसपाली संसदको सबैभन्दा कान्छी सांसद हुन् ।

जीवनको उत्तरार्धमा पुगेका वयोवृद्ध र युवा जोसको संयोजनले पक्कै पनि अबको संसदमा जनताका आवाजले स्थान पाउला नै । बिहीवार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिँदै संसदको जेष्ठ सदस्य राणाले असल र इमान्दारिताका साथ सभामुखको भुमिका निर्वाह गर्ने बताए ।

अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने दाबी गरेका छन् । सञ्चारकर्मीहरुसँग बोल्दै उनले राष्ट्रपति पनि राजनीतिक व्यक्ति नै हुने उल्लेख गर्दै चर्चामा आएको नाम रामचन्द्र पौडेल वा माधवकुमार नेपाल हुने पनि बताए ।

पहिलोपटक सांसद बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको प्रतिकृया दिएका छन् । उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरुलाई गम्भीरताका साथ लिएको बताए ।

यता माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । अध्यक्ष दाहालले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिए । संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भन्ने प्रश्नमो जवाफ दिँदै उनले सो सम्बन्धमा सल्लाह गरेर सहमतीमा पुग्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको स्पष्ट पारे । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । सांसद गौतमले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?