धौलागिरी क्याम्पसमा सुविधा सम्पन्न पाँच तले भवन बन्दै

लोकपथ
28
Shares

काठमाडौं । धौलागिरी क्याम्पसमा रु १० करोड लगानीमा पाँचतले भवन निर्माण हुने भएको छ । पुनःनिर्माण प्राधिकरणको लगानीमा क्याम्पस परिसरमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो ।

नयाँ बन्ने भवनमा २४ वटा कक्षाकोठाका साथै सभाहल, प्रशासनिक कक्ष र विभागीय कक्ष रहने क्याम्पस प्रमुख प्रध्यापक डा.रामप्रसाद उपाध्यायले जानकारी दिए । विसं २०१९ मा स्थापना भएको धौलागिरी बहुमुखी क्याम्पसमा हाल अध्यापनका लागि कक्षाकोठाको अभाव भएको उपाध्यायको भनाइ छ ।

भूकम्पका कारण क्षतिग्रस्त भएका क्याम्पसका संरचना पुनःनिर्माणका लागि सात वर्ष कुर्नुपरेको उनले बताए । क्याम्पसको पुरानो भवनमा रातो स्टिकर अझै पनि छ । क्याम्पसले सानासाना भवन बनाउँदा जग्गामात्रै खर्च भएको जनगुनासोपछि क्याम्पसको निरन्तरको पहलकदमीबाट पाँचतले सुविधा सम्पन्न भवन निर्माण गर्न थालिएको हो ।

‘विज्ञान संकाय तथा बीबीए कार्यक्रमका लागि बढी कक्षाकोठा आवश्यक छन्’, प्रध्यापक डा.उपाध्यायले भने, ‘बीबीए र बिएका कक्षा चलाउन अझै पनि समस्या छ, दुई वर्षभित्र भवन पुनःनिर्माण सम्पन्नपछि समस्या हट्ने विश्वास लिएका छौँ ।’ पुराना संरचना भत्काउने र नयाँ भवन निर्माणपछि क्याम्पस शैक्षिक गुणस्तर वृद्धिमा बढी केन्द्रित हुने उनको भनाइ छ ।

बालमन्दिर विद्यालयसँग जोडिएको झण्डै एक रोपनी जग्गामा नयाँ भवन निर्माण हुनेछ । भवन पुनःनिर्माणपश्चात् बीएड र बीबीए कार्यक्रमलाई बिहान पढाउन सहज हुने क्याम्पसको भनाइ छ । क्याम्पसले नयाँ शैक्षिक कार्यक्रमका लागि स्थानीय स्रोत जुटाउन बहुउद्देश्यीय भवन समेत बनाएर भाडामा लगाएको छ ।

हाल क्याम्पसमा ३७ वटा कक्षा एकैसाथ सञ्चालन भइरहेका छन् । क्याम्पसले बीबीए कार्यक्रमतर्फ शतप्रतिशत विद्यार्थीले नतिजा दिइरहेकाले सुविधासम्पन्न भवनले विद्यार्थीलाई अध्ययनमा अझै सहज हुने क्याम्पसका बिबिए संयोजक तथा उपप्रध्याक विप्लब शर्माले जानकारी दिए । क्याम्पसमा अत्याधुनिक पुस्तकालय बजेट अभावमा अलपत्र अवस्थामा छ ।

तत्कालीन सांसद विकास कोषबाट निर्माण गरिएको भवन सरकारले संसद् विकास कोष खारेज गरेपछि अलपत्र परेको हो । क्याम्पसले आगामी शैक्षिक सत्रदेखि छात्राबासको व्यवस्था गर्ने भएको छ । टाढाबाट आएका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्राबासमा प्राथमिकता दिने क्याम्पसले जनाएको छ । क्याम्पसमा हाल दुई हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?