भृकुटीमण्डपमै पाइन्छ नेपथ्यको टिकट, गेटैमा आश्रमको स्टल

लोकपथ
28
Shares

काठमाडौं । पुस १६ गते शनिवार काठमाडौंको भृकुटीमण्डपमा हुने मानवताका लागि संगीत (नेपथ्य लाइभ कन्सर्ट)को टिकट आजबाट भृकुटीमण्डपमै प्राप्त गर्न सकिने भएको छ ।

संगीत पारखीहरुलाई टाढाटाढाबाट टिकट लिन आउनुपर्ने असहज अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सहजताका लागि कार्यक्रम हुने स्थल भृकुटीमण्डपमै टिकट उपलब्ध हुने गरी गेटमै स्टल राखिएको आयोजक मानवसेवा आश्रमका सचिव तथा प्रवक्ता सुमन वर्तौलाले जानकारी दिए ।

आश्रमले मानवताका लागि संगीत भन्ने नाराका साथ गएको मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म महिनाव्यापी संगीत टुर गरिरहेको छ । आज बुटबलमा र १२ गते पोखराको कार्यक्रम सकेर नेपथ्यको ७० जनाको विशाल टोली यही १६ गते काठमाडौं आइपुग्ने छ । उक्त कार्यक्रमको तयारी तिब्र पारिएको बर्तौलाले जानकारी दिए।

गएको मंसिर १६ गते विराटनगरबाट शुरु भई पुस १६ गते काठमाडौंमा आएर समापन हुने उक्त संगीत यात्राले यसपाली मानवता प्रवर्धनमा ठुलो टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि खाना, नाना र छानामा सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा आश्रमको अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन चर्चित नेपथ्य ब्याण्डसँगको सहकार्यमा आश्रमले उक्त कार्यक्रम गर्न लागेको हो ।

अन्तर्राष्ट्रियस्तरको उक्त लाइभ कन्सर्ट गत मङ्सिर १६ गते विराटनगरपछि मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सम्पन्न भइसकेको छ।

यस्तै, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्चमा सम्पन्न भइसकेको र आज ९ गते बुटवलको कालिका मानव ज्ञान मावि सेक्टर २ (रामनगर) मैदानमा आयोजना भएको छ ।

१२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम सकेपछि १६ गते काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट हुनेछ । यसअघिका हरेक कार्यक्रममा पाँच हजारदेखि ६ हजारसम्म मानिसहरुको सहभागितामा उक्त कार्यक्रम भएको थियो । काठमाडौंका लागि भने टिकट एक हजार पाँच सय रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?