चार महिनामा एक खर्ब ७५ अर्ब १६ करोड बराबरको भारतीय रुपैयाँ खरिद

लोकपथ
14
Shares

काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव अर्थात तरलताको अभाव भएपछि यसको असर नेपाल राष्ट्र बैंकको वित्तीय संरचनामा पनि परेको छ । सो अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा राष्ट्र बैंकको तरलता प्रवाह पनि बढेको देखिएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा २८ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ । यस अन्तर्गत रिपोमार्फत दुई खर्ब तीन अर्ब ८७ करोड, सोझै खरिद बोलकबोलमार्फत ७२ अर्ब २० करोड र स्थायी तरलता सुविधामार्फत २५ खर्ब ५७ अर्ब चार करोड गरी कुल २८ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ तरलता प्रवाह भएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद १७ खर्ब ३६ अर्ब ८४ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर एक अर्ब ५२ करोड खुद खरिद गरी एक खर्ब ९५ अर्ब ८६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४१ करोड ३४ लाख खुद खरिद गरी ४९ अर्ब ५९ करोड तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा अमेरिकी डलर एक अर्ब ३६ करोड बिक्री गरी एक खर्ब ७५ अर्ब १६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ३६ करोड बिक्री गरी एक खर्ब ६१ अर्ब ८४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?