पोखरा एभेन्जर्सको लगातार दोस्रो हार, जनकपुर रोयल्स ५ विकेटले विजयी

लोकपथ
28
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले विजयी शुरुआत गरेको छ । जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै लिगमा सुखद शुरुआत गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरको ब्याटिङमा सन्दीप जोराले अविजित ४० रनको इनिङ खेले । ओपनर सागर पुनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रनमा आउट भएका थिए । चादविक वालटनले १९ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराको बलिङमा अभिमन्यू मिथुन, कप्तान शरद भेषावकर र मौसम ढकालले समान १ विकेट लिए । यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २ बल बाँकी रहँदा अलआउट हुँदै १ सय ३८ रनको योगफल तयार गरेको थियो । पोखराका लागि ओनर आसिफ शेखले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको महत्वपूर्ण इनिङ खेले ।

सिद्दान्त लोहनीले १६ बलमा ४ छक्का प्रहार गर्दै २९ रन जोडे । अमिर हम्जाले १८ रन जोड्दा तल्लो क्रमका ब्याटर प्रतिस जिसीले १८ बलमा ४ छक्कासहित २८ रन जोढ्दै पोखराको स्कोर मजबुत बनाएका थिए । त्यसबाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरको बलिङमा केस्रिक विलियम्सले ३ दशमलव ४ ओभरमा १९ रन खर्चिदै सर्वाधिक ३ विकेट लिए । पवन सर्राफ स्राफुदिन असरर्फ र ललित राजवंशीले समान २ विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।

पोखरा पहिलो खेलमा काठमाडौं नाइट्सँग २६ रनले पराजित भएको थियो । जनकपुरले अर्को खेलमा बुधवार विराटनगर सुपर किङ्ससँग खेल्नेछ । पोखराले मंगलवार लुम्बिनी अलस्टार्ससँग खेल्नेछ ।

आईतवार सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई २ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?