दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन : उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाल र भारत जारी दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा फाइनल प्रवेश गरेका छन् । 

नेपालले सेमिफाइनलमा बङ्गलादेशविरुद्ध ३–० को जीत निकाल्दै उपाधि नजिक पुगेको हो । नेपालका नवीन श्रेष्ठले पुरुष एकलमा बङ्गलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे ।

त्यस्तै महिलातर्फ रशिला महर्जनले बङ्गलादेशकी फारविन विन्ते इमडाडलाई २१–८, २१–५ ले तथा नवीन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बङ्गलादेशका गौरव सिंह र मङ्गल सिंहको जोडीलाई २१–१५, २१–१६ ले पाखा लगाउँदै विजयी भएका हुन् । 

नेपालले उपाधिका आज ‘बिहीवार’ भारतको सामना गर्दैछ । यसअघि नेपालले मालदिभ्सलाई ४–१ ले पराजित गर्दै समूह बिको विजेता हुँदै बङ्गलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टोली हो । 

यता अर्को सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई ३–० ले  पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।  भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का सासिन्धुलाई २३–२५, २१–१२ र २१–१७ ले हराए ।

महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलङ्काकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका विष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलङ्काका चामथ दियास र चिराथ इलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

भारत अघिल्लो संस्करणको विजेता हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?