अमेरिकामा अत्याधिक चिसोले ५६ जनाको मृत्यु, तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्दा जनजीवन कष्टकर

लोकपथ
42
Shares

काठमाडौं । अमेरिकामा हिमआँधीका कारण ५६ जनाको मृत्यु भएको छ । चिसो सिरेटोसँगै हिमपात हुँदा अमेरिकाभरकै जनजीवन नराम्रोसँग प्रभावित भएको छ । खासगरी उत्तरी अमेरिकाका राज्यहरु बढी प्रभावित भएका छन् ।

चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । न्यूयोर्कको पनि बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ ।

त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन् । गभर्नर क्याथे हुचेलले, ‘बफेलो शहरका लागि यो इतिहासकै विनाशकारी हो । प्रकृतिले आफूसँग भएका सबै कुराले हामीलाई प्रहार गरिरहेकी छन्,’ भनिन् ।

अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सरकारी अधिकारीहरुले सचेत गराए पनि एरी काउन्टीमा भने १२ जना मानिस घरभित्रै र गाडीभित्रै मृत फेला परेका छन् ।

ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएको सीएनएनले जनाएको छ । मोन्टानामा त न्यूनतम तापक्रम नै माइनस ४५ डिग्री सेल्सियससम्म झरेको छ ।

हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको भन्दै बीबीसीले क्यानडाको कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जनाएको छ ।

हिउँले सडकहरु अवरुद्ध हुनाका साथै कयौं उडान रद्द गरिएका छन् । क्रिसमसका बेला हिमपात र जाडो बढ्दा धेरैको दैनिकी कष्टकर बनेको छ ।

केही स्थानमा विद्युत आपूर्ति नै बन्द हुँदा बर्फिलो चिसोले मानिसहरु आत्तिएका छन् । विस्तारै धेरै स्थानमा विद्युत आपूर्ति शुरु भएका खबर आएका छन् । समाचार एजेन्सी एपीका अनुसार शुरुमा १७ लाख मानिस बिजुली विना बस्न बाध्य भएका थिए । त्यो संख्या अहिले दुई लाख रहेको छ ।

राष्ट्रपति जो बाइडनले न्यूयोर्कवासीलाई यो संकटबाट उतार्न सम्पूर्ण शक्ति लगाइने बचन दिएका छन् । मौसमविदहरुले हिमपात र चिसो कम हुन अझै केही दिन लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?