काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको गीतीसङ्ग्रह ‘म बिर्सुँ कसोरी’ विमोचन गरिएको छ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा बुधवार एक विशेष कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरियो ।
पुराना तथा नयाँ गीतको सङ्ग्रहमा गीतकार दिनेश अधिकारीले आफ्ना चर्चित गीतलाई पुस्तकको आकार दिएका छन् । उनले पुस्तकको नाम आफ्नो चर्चित गीत ‘यो सम्झिने मन छ म बिर्सु कसोरी’ बाट राखेका छन् ।
विमोचन कार्यक्रममा गीतकार किरण खरेल, यादव खरेल, संगीतकार दीपक जंगम, गायक भीमार्जुन आचार्य लगायतले पुस्तकका बारेमा बोलेका थिए । दिनेश अधिकारीको यो चौथो गीत संग्रह हो ।
कार्यक्रममा गायिका कुन्ति मोक्तानले तीनवटा गीत समेत गाएकी थिइन् । कार्यक्रममा बोल्दै कवि अधिकारीले यो सङ्ग्रहमा गीत लेख्न शुरु गर्दादेखिका गीत समावेश गरेको बताए ।
लामो समय सरकारी वकिल रही न्याय क्षेत्रमा समेत काम गरेका दिनेश अधिकारी अहिले पनि गीत र कविता रचनामा उत्तिकै सक्रिय छन् ।
अधिकारीको यो पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।
तस्वीरः राज शाहको फेसबूकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया