काठमाडौं । इजरायलमा फेरि बेञ्जामिन नेतन्याहू प्रधानमन्त्रीमा नियुक्त भएका छन् । दुई वर्षदेखि सत्ता बाहिर रहेका नेतन्याहूको यो छैठौँ पटक प्रधानमन्त्रीको कीर्तिमानी यात्रा हो ।
प्रधानमन्त्री पदको शपथ लिए लगत्तै उनले इजरायली जनताको मायाले आफू पटक–पटक प्रधानमन्त्री बन्न सफल भएको बताए । उनले आफ्नै नेतृत्वमा इजरायलको विकास सम्भव भएको पनि उल्लेख गरे ।
यता, नेतन्याहू प्रधानमन्त्रीमा चयन भएलगत्तै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले बधाई दिदै रुस र इजरायल सम्बन्ध सुदृढ हुने विश्वास समेत व्यक्त गरेका छन् । रुस–युक्रेन युद्ध शुरु भएदेखि इजरायल तटस्थ रहँदै आएको छ ।
उता, युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले पनि नेतन्याहूलाई बधाई दिँदै आफ्नो देश इजरायलसँग गहिरो सम्बन्ध बनाउन र साझा चुनौतीहरूको सामना गर्न मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतन्याहूलाई संसदको १२० मध्ये ६३ सांसदको समर्थन छ । ५४ सांसदले भने उनको सरकारको विपक्षमा मतदान गरेका थिए ।
सत्तामा फर्किएपछि उनले सरकारको तीन राष्ट्रिय लक्ष्य रहेको बताए । जसमा आणविक हतियारमा इरानको प्रगतिलाई रोक्ने, देशभर बुलेट ट्रेनहरू चलाउने र अब्राहम सम्झौतामा थप अरब राष्ट्रलाई सहभागी लगाउने रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया