काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखराले दोस्रो जित हात पारेको छ । लगातार पाँच खेलमा हार ब्यहोरेको पोखराले छैटौँ र सातौँ खेलमा जित हात पारेको हो । आज भएको सातौँ खेलमा लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हराउँदै पोखराले लिगमा दोस्रो जित दर्ता गरेको हो ।
पोखराको जितका लागि दोस्रो विकेटका मैदानमा उत्रिएका शेख दाजु–भाइ आरिफ र आसिफले ९५ रनको साझेदारी गरे । पोखरा एभेन्जर्सले शुक्रवार फार वेस्टर्न युनाइटेडलाई पराजित गरेको थियो ।
शुरुआती पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको लुम्बिनी पहिलो पटक पराजित भएको हो। लुम्बिनीले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रनको योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको पोखराले १८ दशमलव २ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पोखराका लागि ६२ बलको सामना गरेका आसिफले ९ चौकासहित अविजित ७७ रनको इनिङ खेले। आरिफले ३७ बलमा २६ रन बनाएर अविजित रहे। त्यसअघि ओपनर सुमित महर्जन १३ रनमा आउट भएका थिए।
लुम्बिनीका लागि किशोर महतोले एक विकेट लिँदा अन्य बलर असफल रहे। पहिलो इनिङमा लुम्बिनीका लागि हरमित सिंहले ३८ रनबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
पोखराका लागि बलिङतर्फ विपिन खत्री र जहिर खानले समान तीन विकेट लिए। त्यसबाहेक आरिफ शेख, तुल थापा र सिद्धान्त लोहनीले समान एक विकेट लिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया