एड्स दिवस : इँटाभट्टाका एड्सपीडित मजदुर महिला

भक्तपुर । विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका लागि नेपाल आउने क्रममा बिरामी भएर जाँच गराउँदा उहाँलाई एड्स लागेको पत्ता लागेको लामाले बताए । उनले भने, “उहाँसँगै म र मेरो पाँच वर्षे छोरामा एड्सको जीवाणु भेटियो, अहिले हामी तीनै जना एड्सबाट सङ्क्रमित छौँ ।” 

श्रीमानकै कारण परिवारलाई नै एड्स सरेपछि गाउँमा अपहेलित हुने डरले डेढ वर्षदेखि भक्तपुर बस्दै आएको लामाले बताए । एड्सकै कारण दुई पटक गर्भपतन गरेकी लामाले श्रीमान्का कारण यस्तो काम गर्नुपरेको दुखेसो पोखे  । “मेरो श्रीमान्लाई यो रोग लागेको आठ वर्ष भइसक्यो । मैले दुई वर्ष अगाडि मात्र थाहा पाएँ । यो कुरा श्रीमान्लाई पहिलै थाहा थियो तर मैले छाडेर जान्छु भन्ने डरका कारण उनले नभन्नुभएका रहेछन् । अहिले उनकै कारण मैले र छोराले दुःख पायौँ ।” उनले भने, “कहिलेसम्म बाँच्छु थाहा छैन, नियमित औषधि खाइरहेकी छु । मेरो श्रीमान् औषधि खान मान्नुहुन्न । अब धेरै बाँच्दिन भने। निको हुने रोग होइन, भन्दै मदिरा सेवन गरी मातिएर बस्नुहुन्छ । छोरासँगै उनको लागि समेत जोहो गर्नुपर्छ ।” 

त्यस्तै ताथलीकै इँटाभट्टामा मजदुरी गर्ने सीता तामाङ (नाम परिवर्तन) पनि श्रीमानकै कारण एचआइभी सङ्क्रमित भएकी महिला हुन् । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि भारतबाट फर्केर आएपछि श्रीमान्कै कारण एड्स लागेको बताउने ४९ वर्षीया सीताका तीन छोरी छन् । दुई वर्षसम्म एड्सले सङ्क्रमित श्रीमानको रेखदेखमै गाउँ बसेकी सीतालाई श्रीमानको मृत्युपछि परिवारका सबै सदस्य मिलेर घर निकाला गरेको उनले दुखेसो पोखे । उनले रुँदै भने “श्रीमानको मृत्युपछि पनि जसोतसो गरी गाउँमै मजदुरी गरेर छोरी पाल्दै आएको थिएँ, पछि मेरै सासुका कारण त्यहाँको कामबाट हटाइयो र गाउँबाट समेत निकाला गरियो ।” 

कान्छी र सीता त उदाहरण मात्रै हुन् । उहाँजस्ता एचआइभी सङ्क्रमित महिला परिवारको सहारामा बाँच्नुपर्नेमा मजदुरी गरेर बस्नुपरेको कति छन् । कुनै पनि सम्बन्धित निकायसँग तथ्याङ्क छैन । राज्यले नियमित औषधि र ल्याब परीक्षण सेवा निःशुल्क रूपमा दिएता पनि घरपरिवार र समाजको डरका कारण उनीहरुजस्ता सङ्क्रमित महिला सेवा लिन डराउँछन् । असुरक्षित यौनसम्पर्क र सुइद्वारा नशा सेवन गर्ने व्यक्तिका कारण सर्ने यो रोगका बारेमा जनचेतना फैलाउन नसकेकै कारण एड्स लागेका मानिस खुलेर नआउने सरोकारवाला बताउँछन् । 

शुरुवात संस्थाका अध्यक्ष राजेश डिडियाले भक्तपुरमा कति सङ्क्रमित छन् त्यसको यकिन तथ्याङ्क नआएको बताए । समाजमा बेज्जती हुने डरले बाँच्ने आशासमेत गुमाएर लुकाएर बसेका हुन्छन् । पछिल्लो सयम जिल्लामा जम्मा १९१ सङ्क्रमित भएको तथ्याङ्क छ । तर यो पूर्ण होइन, उनले भने । त्यसमध्ये ४५ जनाले भक्तपुर अस्पतालबाट औषधि सेवा लिइरहेका छन् । १०० जनाले टेकु अस्पताललगायत काठमाडौंका विभिन्न स्थानबाट औषधि सेवन गरिरहेका छन् । 

उनले पछिल्लो समय सङ्क्रमित युवाको आयआर्जनका लागि विभिन्न कृषि तालीम दिनुका साथै कृषि व्यवसाय गर्नेलाई केही पूँजीसमेत वितरण गर्दै आएको बताए । 

भक्तपुर अस्पतालका एआरटी सेन्टरका काउन्सिलर सृष्टि अर्यालले १० महिलासहित ४५ सङ्क्रमित युवालाई अस्पतालले नियमित औषधि सेवा दिइरहेको जानकारी दिए । उनले सङ्क्रमितलाई औषधिसँगै आवश्यक ल्याब परीक्षण सेवासमेत निःशुल्क रूपमा दिँदै आएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?