शम्भू माली / कपिलवस्तु । देशभरका १ सय ४३ छोटी भन्सारहरू मध्ये स्तरोन्नति गरि मुल भन्सार कायम गरिएको सुठौली भन्सारका लागि सीमा क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा खोजी गर्ने कार्यको पहल शुरु गरिएको छ ।
हाल रहेको भन्सारको कार्यालय मर्यादपुर सीमा क्षेत्र भन्दा १ किलोमिटर उत्तर रहेकाले स्तरोन्नति भएको भन्सारका लागि सीमा क्षेत्रमै जग्गा खोजी गर्न थालिएको हो ।
यसअघि ५ वटा छोटी भन्सारलाई स्तरोन्नति गरि मुल भन्सार बनाउने निर्णय पछि गत असोज ८ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भन्सारको उद्घाटन गरेका थिए । मुलमा स्तरोन्नतिको निर्णयपछि विभागले आवश्यक कर्मचारीलाई भन्सारमा खटाए पनि आवश्यक भौतिक पूर्वाधारको अभावले भन्सारदेखि सीमा नाकासम्म मालबाहक सवारीको जाँचपाँसका क्रममा आवागमन प्रभावित हुँदै आएको छ ।
भन्सार विभागले खटाएका कर्मचारीले आवश्यक जग्गा खरिद प्रक्रियाका लागि सम्बन्धित जग्गा धनीलाई सम्पर्क गरे पनि जग्गा खरिदका लागि दुबै पक्षबीच कुरा मिल्न नसक्दा सुठौली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तिर्थराम पासवान नेतृत्वको भन्सार कर्मचारीको टोलीले जग्गा खरिद प्रक्रियामा सहयोग गर्न गाउँपालिकासँग समन्वय शुरु गरेको छ । भन्सारको टोलीले गाउँपालिकासँग समन्वय गरेसँगै गाउँपालिका अध्यक्ष गृजेश कुमार पाण्डेय नेतृत्वको दुबै टोलीले खरिद गर्नुपर्ने जग्गा रहेको स्थलको अवलोकन गरेको हो ।
यसअघि गाउँपालिकामा छलफल गर्दा प्रमुख भन्सार अधिकृत तिर्थराम पासवानले आफूहरूले जग्गाधनीसँग कुरा गर्दा धेरै मूल्य बताएको र कतिपय जग्गाधनीले जग्गा दिन ईन्कार गरेको बताए । “सीमा जोडेर निर्माण गर्नुपर्ने यार्ड, चेकपोष्ट र सुरक्षा चेक पोष्ट निर्माणका लागि करिब ५ बिगाहा बढि जग्गाको आवश्यकता पर्ने हुन्छ । भविष्यमा नेपाल भारतको संयुक्त भन्सार सञ्चालन गर्नु पर्ने अवस्थालाई मध्यनजर गरि जग्गा खरिद गर्ने प्रक्रियामा छौं,” उनले भने । “जग्गा अधिकरणका प्रक्रियामा जानु भन्दा स्थानीय तहको पहल कदमीमा जग्गा खरिदको प्रक्रियामा जाने योजनामा छौं । समयमै जग्गा प्राप्ति नहुँदा भौतिक पूर्वाधार अभावले काम गर्न समस्या परेको छ,” उनले थपे । सम्बन्धित जग्गाधनीलाई चित्त बुझाएर जग्गा प्राप्तिको पहल गर्न आवश्यक रहेको नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेय बताउँछन् ।
“भन्सार चोरी निकासी रोक्नका लागि समेत स्थानीयको सहयोग आवश्यक पर्छ । त्यसैले जग्गा प्राप्तिको प्रक्रिया सम्बन्धित जग्गा धनीको चित्त बुझाएर चलनचल्ती अनुसार अगाडि बढाउनु पर्छ । ” पाण्डेयले भने । स्तरोन्नती गरिएको भन्सार सञ्चालनका लागी सम्बन्धित जग्गाधनी र भन्सार बिच सहजीकरण गर्ने जानकारी दिँदै चलनचल्तीको दररेट अनुसार भंसारका लागि जग्गा प्राप्त गर्नका लागी आफूले समन्वय गर्ने यशोधरा गाउँपालिकाका अध्यक्ष गृजेश कुमार पाण्डेयले जानकारी दिए । “आवश्यक पर्ने जग्गाको निक्योल गरि सम्बन्धित जग्गा धनीको पहचान गरेर दुबै पक्ष बिच छलफल गराई भन्सारका लागी जग्गा प्राप्ती गर्ने वातावरण बनाउन पहल गर्छौ । ” गाँउपालिका अध्यक्ष पाण्डेयले भने । यस अघि सुठौली छोटी भन्सार सगै चाकलचौडा भन्सार सञ्चालन गरिएको भए पनि अब सुठौली भंसार मातहत चाकलचौडा, गौरा, दोहनी र रंगपुर छोटी भन्सार सञ्चालनमा आउने छन ।
सुठौली भनसारको स्तरोन्नतीसँगै गौरा, दोहनी र रंगपुर छोटी भन्सार सञ्चालनमा ल्याउने तयारी शुरु गरिएको जनाईएको छ । सुठौली भन्सारमा चार महिना अघि नै बैज्ञानिक प्रविधिको आशिकुडा प्रबिधी शुरु भई सकेको छ । गत आर्थिक वर्षमा सुठौली छोटी भन्सार कार्यालयले २५ करोड ५३ लाख ५७ हजार भन्सार राजश्व असुली गरेको भए पनि भन्सार स्तरोन्नती पश्चात भौतिक पूर्वाधार अभावकै कारण चालु आवमा भन्सार बिभागले सुठौली भन्सारलाई १५ करोड रूपैयाँको राजश्व असुलीको लक्ष्य दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया