काठमाडौं । विद्युत प्राधिकरणले गरेको ज्यादती बारे जानकारी दिन ‘आईएसपीएन’ले सोमवार पत्रकार सम्मेलन गर्ने भएको छ । प्राधिकरणले एकतर्फी रुपमा अचाक्ली वृद्धि गरेको पोल तथा ‘ओपीजीडब्लू’ भाडा नतिरेको निहुँमा इन्टरनेट सेवा प्रदायकहरुको ‘डेटा सेन्टरमा’ विद्युत लाइन काट्ने गरेको भन्दै ‘आईएसपीएन’ले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
नियमित विद्युत महसुल भुक्तानी गर्दागर्दै पनि इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर तारहरु छानिछानी काट्ने लगायतका गतिविधिहरु तिव्र गतिले बढाइरहेको कारण देशका विभिन्न ठाउँहरुमा अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न सकिने वातारण नरहेको बताउँदै ‘आईएसपीएन’ले विद्युत प्राधिकरणले मानव अधिकारभित्र पर्ने इन्टरनेटको पहुँचको चरम उल्लङ्घन गरेको आरोपसमेत लगाएको छ ।
हाल विद्युत प्राधिकरणले पोल चार्ज ५ सय देखि बढाएर १ हजार ४ सय प्रतिशतसम्म पुर्याएको, नागरिकले प्राप्त गर्नुपर्ने इन्टरनेटको पहुँचको अधिकार उल्लंघन गरेको विषयमा प्रकाश पार्न ‘आईएसपीएन’ले पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलन भोलि सोमवार दिउँसो २ देखि ३ बजेसम्म इन्द्रेणी बेनक्वेट (रानी हल), बानेश्वर काठमाडौंमा हुने ‘आईएसपीएन’ले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया