राजविराजमा बृहत् पुस्तक मेला

लोकपथ
14
Shares

राजविराज । साहित्यिक संस्था साझा प्रकाशनले बृहत् पुस्तक मेलाको आयोजना गरेको छ । सप्तरीको राजविराजस्थित संस्था साझा प्रकाशनमा १४ दिनसम्म चल्ने उक्त पुस्तक मेलाको आज साहित्यकर्मी एवं दहेजमुक्त मिथिला समाजकी राष्ट्रिय संयोजक करुणा झाले उद्घाटन गरिन् ।

सो अवसरमा उनले यस्ता पुस्तक मेलाले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरिन् ।

अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालको महासचिव रहेकी उनले अन्य भाषासँगै मैथिली भाषा र साहित्यका पुस्तक पनि बढी प्रकाशनमा ल्याउनुपर्नेमा जोड दिँदै मैथिली भाषा साहित्य क्षेत्रमा कलम चलाउने साहित्यकार र प्रकाशक संस्थालाई यसतर्फ सक्रियता देखाउन आग्रह गरिन् ।

विषेशगरी मधेस प्रदेशमा भाषा, साहित्य, कला संस्कृतिका पुस्तकको अध्ययन गर्ने पाठकको संख्या कम रहेकोमा चिन्ता व्यक्त गर्दै उनले छुटसहितको पुस्तक मेलाले त्यस्ता पाठकलाई आर्कषण गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।

शाखा प्रबन्धक मनोज माझीले पठन संस्कृतिको विकास तथा ज्ञानवर्द्धक उपयोगी पुस्तकको बिक्री वितरण वृद्धि गर्ने उद्देश्यले पुस्तक मेलाको आयोजना गरिएको बताए । पुस्तक मेलामा विभिन्न साहित्य, कला, इतिहास, धार्मिक ग्रन्थ, बाल साहित्य, शब्दकोषसँग सम्बन्धित दुई हजार पाँच सयभन्दा बढी शीर्षकका पुस्तक राखिएका छन् ।

एक हजार छ सयभन्दा बढी लेखकको कृति राखिएको पुस्तक मेला पुस ३० गतेसम्म चल्ने र उक्त अवधिमा विभिन्न विधाका पुस्तकमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको सो संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?