चितवन । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् ।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ ले किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताए । दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उनले दूधको मूल्य बढ्न नसके किसान पलायन हुने अवस्था आउने बताए । उनले किसान परिचयपत्रको व्यवस्था र आवश्यकअनुसारको अनुदानको व्यवस्था गर्न माग गरे ।
कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको बताए । राज्यकै नीतिका कारण किसान दिनप्रतिदिन विदेश पलायन भइरहेको उनको भनाइ छ । नेपालमा २२ लाख घर परिवार दूध उत्पादन गरेर आत्मनिर्भर बनेको समाजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया