बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो ।
दोगडाकेदार गाउँपालिकाको वडा नं. ३ श्रीकोट र वडा नं. ७ देउलेकको सिमाना लवलेक ‘लडालेक’मा खेलमैदान निर्माणकार्य भइरहेको छ । २ सय मिटर चौडाइ र ४ सय मिटर लम्बाइ हुने उक्त खेलमैदानका लागि थप आवश्यक पर्ने बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।
सुविधासम्पन्न खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजनामा राखेको आगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उनले बताए ।
उक्त खेलमैदान निर्माणका लागि प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लीलाधर भट्टले सहयोग गर्ने आश्वासन दिए ।
सुविधासम्पन्न उक्त खेलमैदान एक करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले भने, ‘स्टेडियम नै बनाउने गरी निर्माणकार्य अघि बढाइएको छ’
युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अघि बढाएर काम शुरु गरेको छ । यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान, वडा नं ५ मा धनथला खेलमैदान र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया