काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले मधेश प्रदेशको कृषि क्षेत्रमा मात्र ५३ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराह र सप्तरीसहित आठ वटा जिल्ला रहेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी आर्थिक बर्ष २०७८/०७९ को प्रतिवेदन अनुसार उक्त परिमाणमा कर्जा प्रवाह भएको देखिएको हो ।
प्रतिवेदन अनुसार मधेश प्रदेशमा प्रवाह भएको कुल कर्जा मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १२ दशमलव ५५ प्रतिशत रहेको छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जा मध्ये सबै भन्दाबढी कर्जा प्रवाह सर्लाही जिल्लामा र सबै भन्दा कम कर्जा सप्तरी जिल्लामा प्रवाह भएको छ । जसमध्ये सर्लाहीमा १६ दशमलव ४७ प्रतिशत सप्तरीमा सात दशमलव तीन प्रतिशत कृषि कर्जा प्रवाह भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा रकम भने आर्थिक वर्ष २०७८/०७९ मा २२ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १४ अर्ब पाँच करोड रहेको थियो ।
यस अवधिमा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी अर्थात चार अर्ब ४८ करोड अर्थात् २० दशमलव १३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम अर्थात एक अर्ब आठ करोड अर्थात् चार दशमलव ८७ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया