काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्ना नेता रेशम चौधरीको तत्काल रिहाइ नगरे सुदूरपश्चिम प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिएको छ ।
सोमबार प्रदेशको पहिलो अधिवेशन अन्तर्गतको पहिलो बैठकलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले त्यस्तो चेतावनी दिएका हुन् ।
चौधरीले थारुहरुको महान पर्व माघीका अवसरमा बिना सर्त रिहाइ हुनुपर्ने नभएमा मागपछिका बैठकहरु चल्न नदिने बताए ।
सभालाई सम्बोधन गर्दै उनले भने, ‘ डिल्लीबजार कारागारमा रेशम चौधरी र कैलाली कारागारमा हाम्रै थुप्रै साथीहरुलाई बन्दी बनाएर राखिएको छ । माघी पर्वसम्म निर्शत उहाँहरुको रिहाई गर्नुपर्ने हाम्रो माग छ । होइन भने माघपछि सदनमा हाम्रो अवरोध हुनेछ । चल्ने दिइने छैन ।’
२०७२ सालमा टिकापुरमा भएको घटना व्यक्तिगत स्वार्थका लागि नभएर राजनीतिक अधिकारका लागि भएको भन्दै सरकारले अहिलेसम्म त्यसको निकास दिन नसकेको उनको गुनासो रहेको छ ।
‘नेपालको नयाँ संविधान लेखन हुँदै गर्दा २०७२ सालमा टीकापुर घटना घट्यो । व्यक्तिगत स्वार्थका लागि नभएर राजनीतिक अधिकार माग्ने क्रममा घटना घट्यो ।’ उनले भने, ‘तर यो घटनाका कारण राज्यले थारु समुदायमाथि ठूलो अन्याय गरेको छ, ७ वर्षसम्म सरकारले निकास दिन सकेको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया