कहालिलाग्दो बन्दै सडक दुर्घटना, हजारौंले गुमाउँदै अकालमा ज्यान

गत मंसिर २५ गते काठमाडौंस्थित तारकेश्वर नगरपालिकाका सविन फूयाँलले सवारी दुर्घटनामा आफ्नो ज्यान गुमाए । उनको मृत्यु शंकास्पद भएको भन्दै परिवार र स्थानीय आन्दोलित भएपछि घटनाले फरक रुप लियो ।

शंकास्पद नहोस् पनि किन ? घटनाको प्रकृतिले त्यस्तै बताउँथ्यो । सडकमा दुर्घटना भएका भनिएको सविनको शव सडकभन्दा केही पर रहेको बालुवाको थुप्रोमा थियो भने उनी सवार मोटरसाइकल दुर्घटना स्थलभन्दा पारीपट्टी रहेको बालुवा डिपोमा भेटिएको थियो । फेरि, सवारी दुर्घटनामा मृत्यु भएका भनिएका सबिनको घाँटीमा हतियार प्रयोग भएको देखिन्थ्यो । घटनास्थलमा एउटा सावेल पनि भेट्टिएको थियो, जसमा रगतहरु लगेको थियो ।

यी यस्तै क्लूहरुले गर्दा स्थानीय र परिवारहरु यो दुर्घटनामात्रै हो भन्ने मान्न तयार भएनन् । घटना भएको भोलिपल्टदेखि नै चिसापानी तनावग्रस्त बन्यो । उक्त स्थानमा बाक्लो संख्यामा प्रहरी खटाइयो । स्थानीयले दुर्घटना गराउने ट्रिपरलाई जलाउन खोज्दा स्थिति मूठभेडतर्फ मोडियो । आक्रोशित स्थानीयले तिनपिप्लेमा रहेको प्रहरी बिट नै जलाइदिए । त्यसपछि प्रहरीले १० जना स्थानीयलाई नियन्त्रणमा लियो । हाल उनीहरु रिहा भइसकेका छन् ।

प्रहरीले अनुसन्धानमा हत्या भएको भन्दै पाँच जनालाई नियन्त्रणमा लिएपछि मात्रै परिवारले उनको अन्तिम संस्कार गरे । पक्राउ गरिएका पाँच जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले लोकपथलाई जानकारी दिए । अनुसन्धानका क्रममा डिपोधनीले दुर्घटना गराउने चालकलाई लुकाएर नक्कली चालक खडा गरेको खुल्यो । नक्कली चालकलाई आफूले सवारी चलाएँ भन्न लगाएर उनलाई ३ लाख रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सविन त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै सयौं युवा सवारी दुर्घटना वा नियोजित हत्यालाई दुर्घटनाको लेप लगाएर अकालमै ज्यान गुमाउन बाध्य छन् । नेपाल प्रहरीकोे तथ्यांक हेर्ने हो भने सवारी दुर्घटनाको अवस्था कहालिलाग्दो छ ।

मृतकको कहालिलाग्दो संख्या

चालु आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म मात्र पनि १५ हजार ८२ दुर्घटना भएका छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना देखिन्छ । जसमा मंसिरसम्म ८ हजार ९४ मोटरसाइकल दुर्घटनामा परेका छन् । ३ हजार २ सय ९५ जिप र कार दुर्घटनामा पर्दा १ हजार १ सय ८५ बस र १ सय ५९ ट्रिपर दुर्घटनामा परेका छन् । यी सबै दुर्घटनामा परी १ हजार २९ जनाले अकालमा ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा ३९ हजार ३ सय ७९ सवारी दुर्घटना भएको तथ्यांक प्रहरीसँग छ । जसमा २ हजार ८ सय ८३ जनाको मृत्यु भएको थियो ।

कुन समयमा हुन्छ धेरै दुर्घटना ?

नेपाल प्रहरीका अनुसार मध्याह्न १२ देखि साँझ ६ बजेको समयमा सबैभन्दा धेरै दुर्घटना हुने गरेका छन् । यस वर्ष बिहान ६ देखि मध्याह्न १२ बजेसम्म २ हजार २ सय ७६ दुर्घटना भएका छन् ।

मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म ३ हजार ७ सय १२ दुर्घटना भएका छन् । यसैगरी साँझ ६ देखि मध्यरात १२ बजेसम्ममा ३ हजार १ सय २९ दुर्घटना भएको छ भने, मध्यरात १२ देखि बिहान ६ बजेसम्म ३ सय ९५ दुर्घटना भएका छन् ।

सडक सुरक्षा

धेरै दुर्घटना हुनुको मुख्य कारक तत्व हो, फितलो सडक सुरक्षा । नेपाल भौगोलिक हिसाबले पनि डाँडापाखा भएको देश हो । देशको केन्द्रीय राजधानी कै सडकको अवस्था दयनीय छ । कहिले खानेपानी त कहिले बिजुलीको तार व्यवस्थापनका नममा बल्ल बल्ल बनाइएका सडक निर्ममतापूर्वक भत्काइन्छ । यस्तो अवस्थामा काठमाडौं बाहिरको सडक कस्तो होला भनेर त भनिरहनै नपर्ला ।

सडक सुरक्षा भन्नासाथ चालक, सवारी साधन र सडकसँग जोडिने विषय हो । तर, यी तीनै पाटोलाई न त सरकारले वास्ता गरेको छ, न त यसको समाधानका लागि कुनै ठोस पहलकदमी नै । केही गरिरहेको छ भन्ने पार्न, सरकारले मौसमी रूपमा सचेतना अभियान र अन्तरक्रिया गर्ने गर्दछ ।

सार्वजनिक सडक ऐन, २०३१ को दफा १६ ‘क’ मा सरकारले नेपाल राजपत्रमा सूचना निकालेर कुनै सार्वजनिक सडकले थाम्न सक्ने तौलको सीमा तोकेर बढी वजनको सवारी साधन चलाउन निषेध गर्न सक्ने व्यवस्था गरेको छ । तर यसको कार्यान्वयन बिरलै हुन्छ ।

क्षमताभन्दा बढी भारका सवारी साधन चल्दा सडकहरू छिट्टै भत्कने र भत्केपछि ती सडकमा बढी दुर्घटना हुने गरेको छ । यद्यपि, ट्राफिक महाशाखाले भने देशका विभिन्न स्थानमा धर्मकाँटा राखेको र नियमित चेकजाँच हुने गरेको बताएको छ ।

छैन प्रभावकारी यान्त्रिक परीक्षण

यातायात व्यवस्था विभागले सवारी नवीकरणको समयमा सवारीको अवस्थाबारे चेकजाँच गर्ने भएपनि त्यो मात्र पर्याप्त भने पक्कै देखिदैन । नवीकरणका लागि पुग्नेबाहेकका सवारीको अवस्थाबारे कुनै चेक जाँच भने हुने गरेको छैन । जसले गर्दा अवस्था ठीक नभएका गाडीमा सवार सर्वसाधारणले ज्यान गुमाउने र घाइते हुने गरेका छन् ।

यातायात व्यवस्था विभागले बेलाबेलामा सडकमा सवारीको अनुगमन र चेकिङ गरे पनि प्रभावी देखिन्न । तर महिना या दुई महिनामा एक पटक गरिने यो अनुगमनले समस्याको हल हुन सकेको छैन ।

लामो दुरीमा दुई जना चालक

ट्राफिक प्रहरीले लामो दुरीको सवारीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । लामो दुरीको सवारीमा दुई जना चालक छ या छैनन् भन्ने चेक जाँच गर्न नेपालभर १५ ठाउँमा जँचिने गरेको ट्राफिक महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टराईले लोकपथलाई जानकारी दिए ।

जुनसुकै ठाउँबाट आएको सवारीको चालकको विवरण नागढुंगा र अन्य बोर्डरमा टिपाइने र चालक फेरिए-नफेरिएको सोध्ने कामसम्म प्रहरीले गर्ने गरेको उनको भनाइ छ । यात्रुहरु भने यो बिरोलो बाँध्ने शैलीमा मात्र सीमित रहेको गुनासो गर्छन् ।

एक दिनमै ३५ लाख राजस्व

ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ३५ लाख रुपैयाँसम्मको राजस्व संकलन हुने गरेको छ । उपत्यकामा मात्रै दैनिक ३५ सयको हाराहारीमा सवारी कारवाहीमा पर्छन् । बढ्दै गइरहको दुर्घटनाको तथ्याङ्कले सडक अनुशासन र ट्राफिक नियम पालना नभएको प्रस्ट देखाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?