गाउने अवसर खोज्दै स्टुडियो चहार्थे प्रताप दास, भन्छन्, ‘नेपाली तारापछि मेरो भ्रम तोडियो’

केही समयअघि प्रेमगीत २ को ‘मोटरसाइकलमा’ बोलको गीतले निकै बजार ततायो । विवाह, पार्टी, पिकनिकमा पनि खुब बज्यो यो गाना ।

गीतको चर्चासँगै प्रतापको चर्चा पनि एकाएक चुलियो ।नेपाल आयडलका प्रतिस्पर्धी भनेर चिनिने प्रतापलाई यही गीतले ‘गायक’ भनेर चिनायो । प्रतापले यसअघि गाएका नाइ नभन्नु ल ३ को ‘यस्ती होस् मेरी गर्लफ्रेन्ड’ ले दिन नसकेको सफलता ‘मोटरसाइकल’ले पूरा गरिदिएपछि उनले लिलीबिली, रोज लगायत अन्य चलचित्रमा पनि आफ्नो आवाज दिने अवसर पाए । 

भलै, प्रतापले नेपाल आयडलको उपाधि जितेनन् तर, धेरै स्रोताको मन जिते । कार्यक्रमका दौरान पनि उनी चर्चामा आइरहन्थे । शो सकिएपछि पनि सबैभन्दा बढी मिडियामा आइरहेका, ‘लाइमलाइट’ पाइरहेका प्रतिस्पर्धी उनै हुन् । 

नेपाल आयडलमा दर्शकमाझ छाएको उनको क्रेज केही घटेको भएपनि सेलाइहालेको भने छैन । एल्बममा होस् या फिल्मका गीतहरुमा उनले आवाज दिने अवसर पाइरहेका छन् ।
त्यस्तै, सांगीतिक कार्यक्रम र कन्सर्टहरुमा पनि आफू उत्तिकै व्यस्त भएको उनी सुनाउँछन् ।

‘प्लेब्याक सिंगिङ’ भन्दा लाइभ गाउन मनपर्ने भएकाले भ्याएसम्म उनी बोलाइएको सबै कार्यक्रमहरुमा पुग्छन् । ‘स्टुडियोमा एक्लै गाउँदा क्या बोर हुन्छ’, आफूलाई भीडका बीचमा गाउन मज्जा लाग्ने बताउँदै उनी भन्छन्, ‘दर्शकको ताली र गाली दुवै सुन्दै गाउन पो मज्जा ।’ यसरी गाइरहँदा उनले आफ्ना प्रशंसक र आलोचक दुवै किसिमका व्यक्तिलाई चिन्ने मौका पाएका छन् । हातमै आफ्नो नामको ट्याटु हान्ने देखि गाउँदै गर्दा ‘भाइ के गीत गाको, अर्को गीत गा’ भन्ने सम्मका दर्शकहरु प्रतापले भेटेका छन् । दुवै किसिमका व्यक्ति भेट्दा उनलाई उत्तिकै मज्जा लाग्छ । भन्छन्, ‘प्रशंसकबाट हौसला बटुल्छु अनि आलोचकबाट पाठ’।

दर्शकले उनको दमदार आवाज र उच्च आलाप लिन सक्ने क्षमताको जति तारिफ गर्छन् उति नै चलचित्रको हिरो जस्तै स्टाइलमा प्रस्तुति दिने शैलीलाई पनि रुचाउँछन् । धेरैले प्रतापलाई गीतमा अभिनय गर्ने सल्लाह समेत दिने गरेका छन् । उनी आफै भने यस विषयमा आत्तिहालेका छैनन् । अभिनय गर्ने चाहना नै नभएर पनि होइन तर, उनलाई एउटै कुराको डर छ ‘नयाँ काम गर्न खोज्दा पुरानो कामबाट कमाएको नाम नगुमोस्’।

जे होस् आफूलाई यो स्थानसम्म ल्याउने मूख्य भूमिका रियालिटी शो कै भएकाले उनलाई त्यसको उपाधि जित्न नसकेकोमा खासै थकथकी नहुने उनी बताउँछन् । गीत गाउने अवसर मात्र होइन गीत गाउन सिक्नुपर्छ भन्ने प्रेरणा पनि उनलाई ‘रियालिटी शो’ ले नै दिएको हो । 

‘त्यसैले, अभिनय गर्नैपरे राम्ररी बुझेर, सिकेर, पर्फेक्ट भएपछि मात्र सोचौंला’ मुस्कुराउँदै उनले भने ।

त्यसो त, नेपाल आयडल अघि उनले ‘नेपाली तारा’ मा पनि भाग लिइसकेका थिए । टप ४ सम्म पुग्न सफल उनले उक्त शो पनि जित्न सकेनन् ।

रियालिटी शोमा भाग लिने, दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाउने, तर, उपाधि जित्नबाट सधैं चुक्ने कारण के होला भन्ने प्रश्नमा उनी भन्छन्, ‘सबै दर्शककै मूडमा भरपर्ने कुरा हो, उहाँहरुलाई कतिबेला, कसको, के मनपर्छ भन्नै सकिन्न’, हालै नेपाल आयडलमा भएको नोमिनेसनको प्रसङ्ग जोड्दै उनी थप्छन्, ‘यसपालि नीलिमा आउट भयो, मलाई ऊ आउट नहुनुपर्ने जस्तो लाग्थ्यो तर, निर्णय दर्शकको हातमा हुन्छ ।’

जे होस् आफूलाई यो स्थानसम्म ल्याउने मूख्य भूमिका रियालिटी शो कै भएकाले उनलाई त्यसको उपाधि जित्न नसकेकोमा खासै थकथकी नहुने उनी बताउँछन् । गीत गाउने अवसर मात्र होइन गीत गाउन सिक्नुपर्छ भन्ने प्रेरणा पनि उनलाई ‘रियालिटी शो’ ले नै दिएको हो । 

प्रेरणा कसरी दियो भन्ने हाम्रो प्रश्नमा उनी आफ्नो जीवनको एक अविस्मरणीय घटना स्मरण गर्छन् । 

सानैदेखि गीत गाउन रुचि भएका प्रतापले एक रियालिटी शो मा अडिसन दिए । घर, छिमेक, स्कुलमा सबै उनको आवाजको फ्यान । उनले सोचे, ‘यस्तो प्रतियोगिता त सजिलै जित्छु ।’ तर, उनी अडिसनबाटै आउट भए । निर्णायकहरुले गीत गाउन सिकेर आउ भन्दै उनलाई पठाइदिए । त्यसदिन उनले सिके ‘गायक बन्न आवाज मात्र राम्रो भएर नहुने रैछ’ । त्यहीँदेखि आफूले संगीत सिक्न थालेको कुरा प्रतापले खुलाए । 

एकातिर, स्टेजमा गाउन बानी परेका उनले शुरुशुरुमा स्टुडियोमा गाउँदा त्यति पारा ल्याएनन् । त्यसताका आफू भर्खर जन्मेको बच्चा जस्तै अनुभव गरेको उनी सुनाउँछन् । अर्कातिर, उनले त्यति गाउने अवसर पनि पाइरहेका थिएनन् ।

संगीत सिक्न थालेपछि उनले सोचे ‘अब चाहिँ पक्कै गायक बन्छु ।’ उनको यो भ्रम फेरि नेपाली ताराले तोड्यो । उक्त शो को टप ४ मा पुगेपछि प्रतापले एल्बममा स्वर दिने अवसर त पाए तर, उनलाई स्टुडियोमा कसरी गाउने भन्ने ज्ञान थिएन । उनले बुझे गायक बन्न राम्रो आवाज र संगीतसँगै स्टुडियो सम्बन्धि ज्ञान पनि आवश्यक रहेछ । 

एकातिर, स्टेजमा गाउन बानी परेका उनले शुरुशुरुमा स्टुडियोमा गाउँदा त्यति पारा ल्याएनन् । त्यसताका आफू भर्खर जन्मेको बच्चा जस्तै अनुभव गरेको उनी सुनाउँछन् । अर्कातिर, उनले त्यति गाउने अवसर पनि पाइरहेका थिएनन् ।

‘चप्पल लाएर दिनदिनै स्टुडियो धाउँथें’,आफ्नो संघर्षको दिन याद गर्दै उनी थप्छन्, ‘नयाँ अनुहार भनेर कसैले पत्याउँदैनथे ।’

नेपाल आयडलमा आउँदा उनको पहिलो एल्बम बजारमा आइसकेको थियो । तर, बजारले उनलाई खासै चिनेको थिएन । त्यसैले पनि आफ्नो सफलताको जश उनी ‘नेपाल आयडल’लाई नै दिन्छन् ।

‘हाम्रो देशमा गाउन चाहने २ लाख छन् अनि गाउने अवसर पाउने २० जना,’ नेपाल आयडलले ती बाँकी प्रतिभाहरुलाई अवसर दिएको बताउँदै उनी भन्छन्, ‘तर, नेपाल आयडल जस्तो कार्यक्रमले पर्दापछाडि रहेका धेरै प्रतिभालाई बाहिर ल्याएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?