म्याच फिक्सिङमा क्यानको बचाउ- ‘बाहिर आएका समाचार मिथ्या’

लोकपथ
56
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ ले नेपाल टि–२० लिग क्रिकेटमा म्याच फिक्सिङ भएको भन्ने समाचार मिथ्या रहेको भन्दै बचाउ गरेको छ ।

क्यानले बुधबार विज्ञप्ति जारी गर्दै पौष ९ गते देखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल टि–२० क्रिकेटमा म्याचा फिक्सिङ भएको भन्ने हल्ला मात्रै रहेको जनाएको हो ।

‘नेपाल क्रिकेट संघको आयोजनामा यही २०७९ साल पौष ९ गतेदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ तथा स्पोर्ट फिक्सिङ भएको भन्ने सम्बन्धमा फैलाइएको अनेक भ्रम तथा मिथ्या सूचनाका विषयमा नेपाल क्रिकेट संघको ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसका साथै क्यानले म्याच फिक्सिङ भएको जानकारी भएमा त्यसको प्रमाण बुझाउन समेत आग्रह गरेको छ ।

मंगलबार क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनाले जारी लिगमा म्याच फिक्सिङ भएको सार्वजनिक गरेका थिए । त्यससँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

त्यस्तै मंगलबार सम्पन्न विराटनगरविरुद्धको खेलपछि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक रुपमा आफ्नो टिमको एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको बताएका थिए । आफूहरुले माथिल्लो तहमा समेत कुरा पुर्याएको समेत बताएका थिए ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि नेपाली टी–२० लिगमा उठेको म्याच फिक्सिङ जस्तो जघन्य आरोपको निष्पक्ष छानबिनको माग गरेका छन् । उनले म्याच फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?