नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आजदेखि शुरु हुँदैछ । 

बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बैठक सोमवार र मंगलवार दुई दिनसम्म चल्नेछ । नेपाल–बङ्गलादेशबीचको ‘ संयुक्त कार्य समूह’को बैठक आयोजना गरिएको छ । बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय टोली आइतवार नै नेपाल आइसकेका छन् । 

नेपालको तर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्दैछन् ।

सोमवार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक तय भएको छ । उक्त बैठकमा नेपालकोतर्फबाट सहसचिव दिनेश घिमिरे र बङ्गलादेशकोतर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गर्नेछन् । 

बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनुका साथै विद्युत् व्यापारका बारेमा दुवैपक्षबीच छलफल हुनेछ ।

नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युत्मा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकाजुर्न राव ‘जिएमआर’बाट ५ सय मेगावाट बिजुली बङ्गलादेशले खरीद गर्नेबारे बैैठकमा छलफल हुनेछ । 

ऊर्जामन्त्री वर्षमान पुनले गत भदौमा गरेका बङ्गलादेश भ्रमणमा दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए ।

बङ्गलादेशसँग ऊर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । काठमाडौंमा भएको उक्त समझदारीमा बङ्गलादेशको तर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए । 

ऊर्जामन्त्री पुनले नेपालको जलविद्युत् बङ्गलादेशलाई बेच्ने वातावरण आफूले बनाउने दाबी गर्दै आएका हुन् । उनले नेपालमा उत्पादित बिजुलीको खपतका लागि आन्तरिक बजार बनाउनुका साथै क्षेत्रीय बजार निर्माणका लागि समेत पहल गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?