काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ध गर्ने जनाएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताका दौरान जिम्मेबार व्यक्ति भागेर भारत पुगेको र अनेक बहानाबाजी गरेकामा सम्झौता खारेज गर्न कानूनी प्रक्रिया सुरु गर्ने बताएका हुन् ।
सेभेन थ्री स्पोर्टस नियतमै खोट रहको बताउँदै उनले सम्झौता गर्ने अर्को पक्ष भागिसकेपछि सम्झौता त रद्ध हुने बताए । सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया सोमबार भारत गएका थिए । भारतबाट सुरक्षा चुनौतीका कारण नेपाल बस्न नसकेको भन्दै बहानाबाजी गरेको चन्दको आरोप छ ।
‘उनले एम्बेसीमा पनि उजुरी गरेका रहेछन् । एम्बेसीले फोन गरेको थियो । तर, हामीले के भन्यौं भने उनको सुरक्षाको सम्पूर्ण जिम्मा हामीले लिन्थ्यौं । प्रहरीलाई खबर गर्न सक्थे । उनको यो सबै भाग्ने बहानाबाजी मात्र हो’ चन्दले भने । नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारणसभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको थियो ।
८ वर्षका लागि व्यापारिक र रणनीतिक साझेदार बनेबापत उसले कुल ३३ करोड रुपैयाँ क्यानलाई बुझाउनुपर्ने थियो । पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा १ करोड २० लाख दिइसकेको अध्यक्ष चन्दले बताए । फिक्सिङलाई बहाना बनाएर त्रिवि मैदानमा जारी नेपाल टी–२० लिग रोक्ने र १५ दिनपछि दुवईमा आयोजना गर्ने जतिनको प्रस्ताव आफूहरुले अस्वीकार गरेकोसमेत अध्यक्ष चन्दले बताए ।
‘उसले भाग्नका लागि अनेक बहाना बनाउन लाग्यो । उनले जारी प्रतियोगिता जसरी पनि सम्पन्न गर्ने बताए । फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकका लागि तयार रहेको र प्रतियोगितामा क्यानको शुल्क बुझाउनुबाहेक सेभेन थ्री स्पोर्टसको भूमिका सकिएकाले प्रतियोगिता नरोकिने उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया