स्टिफन हकिङदेखि झमककुमारी सम्म : शारीरिक अशक्तता भएकाहरुको प्रेरक सफलता, जसले केही गर्न हौसला दिन्छ

शारीरिक अशक्तता भएकाहरु युगकै खतरनाक व्यक्तिसम्म बने

खुट्टै नभएको व्यक्तिले सगरमाथा चढ्यो भन्दा अचम्म लाग्दैन ? अनि आँखा नदेख्ने व्यक्तिले किताब लेख्यो भन्दा नि ? पूरै शरीर नचल्ने व्यक्ति युगकै सबैभन्दा खतरनाक वैज्ञानिक हुनु आफैमा आश्चर्यलाग्दो कुरा छैन र ? 

शारीरिक अशक्तता भएका व्यक्तिलाई देख्नासाथ ‘बिचरा’ भन्ने हाम्रो संवेदनालाई यी कुराहरु नौलो लाग्न सक्छन् । अचम्मको लाग्न सक्छन् । त्यस्तै यी पात्रहरु कुनै ‘फ्यान्टासी’ चलचित्र वा किताबका पात्र जस्तो पनि लाग्न सक्छन् जब कि यी व्यक्तिहरु ‘रियल’ हुन् । सबैसँग कुनै न कुनै प्रकारको शारीरिक अशक्तता छ र सबैले कुनै न कुनै तरिकाले त्यसलाई चिर्दै उल्लेख्य उपलब्धि हासिल गरेका छन् । 

कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त हुन पुगे । तर, शारीरिक अशक्तताले उनीहरुको सपनामा अङ्कुश लगाउन भने सकेन । न उनीहरुले आफ्नो कमजोरीलाई जीवनमा हावी हुन दिए न त पुर्पुरो ठोक्दै बिलौना गाएर समय बर्बाद गरे । बरु, आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे । र, सबैका निमित्त उदाहरण बने । 

यस्ता केही व्यक्तिहरु यस प्रकार छन् :

स्टिफन हकिङ

स्टिफन हकिङ विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक र प्रोफेसर हुन् । उनले विशेष गरेर भौतिक शास्त्र र ब्रह्माण्ड विज्ञान सम्बन्धि विभिन्न सिद्धान्तहरु प्रतिपादन गरेका छन् ।

‘टायम मेसिन’ को सहायतामा वर्तमानबाट आफ्नो विगत वा भविष्यमा जान सकिन्छ भन्ने अवधारणा पनि उनैले विकास गरेका हुन् ।

विश्वका सुप्रसिद्ध बौद्धिक व्यक्तित्त्वहरुमा उनको नाम पनि आउँछ । धेरैले उनको यो उपलब्धिलाई ‘चमत्कार’ पनि मान्ने गर्छन् किनकि स्टिफनलाई ‘एम्योट्रोफिक ल्याटेरल स्क्लेरोसिस’ नामक नशा सम्बन्धि रोग थियो जसकारण उनको सम्पूर्ण शरीर प्यारालाइज्ड थियो । उनी न बोल्न सक्थे न त हिँडडुल गर्न नै । 

उनले भन्न चाहेको कुरा व्यक्त गर्न र हिँडडुल गर्नका निमित्त विशेष किसिमको यन्त्र बनाइएको थियो । जसको सहायताले उनले क्याम्ब्रिज विश्व विद्यालयमा पढाउनेदेखि आफ्नो खोजअनुसन्धान गर्ने र पुस्तक लेख्ने सबै काम गर्ने गर्थे । 

यसरी २१ वर्षको उर्जाशील उमेरदेखि शरीर कुँजिएपनि यसले स्टिफनलाई खोज अनुसन्धान गर्न, विज्ञान क्षेत्रमा अमिट छाप छोड्नबाट रोक्न सकेन । 

हेलेन केलर

हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् । जन्मिदा सामान्य नै जन्मिएकी उनले डेढ वर्षको उमेरदेखि अकास्मात् देख्ने र सुन्ने शक्ति गुमाइन् ।

देख्न र सुन्न नसक्ने उनलाई पढाउन लगभग असम्भव जस्तै लागिरहेका बेला अन्नी सुलिभानले सो जिम्मेवारी लिइन् । उनले हेलेनको ‘महसुस’ गर्ने सेन्सलाई प्रयोग गरेर, कुनै शब्द उच्चारण गर्दा मुख चल्ने तरिका, वस्तुलाई छोएर चिन्ने क्षमताको विकास गर्दै उनलाई पढाइन् । 

हेलेनले पनि आफ्नो सिक्ने चाहनालाई कहिल्यै मर्न दिइनन् । अन्ततः उनी सफल लेखक, प्राध्यापक र राजनीतिक अभियान्ता बन्न सफल भइन् ।

फ्रान्कलिन डि रुजवेल्ट

फ्रान्कलिन अमेरिकाका वकिल साथै ३२ औं राष्ट्रपति हुन् । उनको नाम जर्ज वासिङ्टन र अब्राहम लिंकन जस्ता उत्कृष्ट अमेरिकन राष्ट्रपतिसँगै लिइन्छ किनकि रुजवेल्ट दोस्रो विश्वयुद्ध र विश्वव्यापी आर्थिक मन्दी जस्तो विकराल अवस्थामा राष्ट्रपति बनेका थिए ।

उनी राष्ट्रपति बन्नुअघि नै पोलियोबाट संक्रमित थिए । रुज्वेल्टको कम्मरमुनिको भाग चल्दैनथियो । शारीरिक अशक्तता भएका व्यक्तिले अमेरिका जस्तो शक्तिशाली मुलुकको नेतृत्व हातमा लिनु आफैमा निकै शाहसी र आश्चर्यलाग्दो कुरा हो । 

यद्यपी उनको स्वास्थ्य अवस्थाका बारेमा धेरैलाई थाहा थिएन । पोलियोबाट संक्रमित उनी सकेसम्म आफ्नो रोग लुकाउन चाहन्थे ताकि कसैले कमजोर नसम्झियोस् । त्यसैले, उनका प्राय तस्वीरहरुमा कम्मर माथिको भाग मात्र देख्न सकिन्छ ।

उनको नेतृत्वलाई जनताले रुचाएर नै होला सन् १९३३ देखि १९४५ सम्ममा उनले ४ पटक राष्ट्रपतिको कार्यभार सम्हाल्ने अवसर पाए । उनी राष्ट्रपति हुँदा अमेरिकामा धेरै परिवर्तनहरु महसुस गरियो, आर्थिक रुपमा देश झनै सुदृढ हुँदै गयो । 

अरुणिमा सिन्हा

शारीरिक अशक्तता भएका व्यक्तिले बौद्धिक क्षेत्रमा उल्लेखनीय काम गरेर पहिल्यैदेखि कायम ‘स्टिरियोटाइप’लाई तोड्दै गर्दा यस्ता केही शाहसी व्यक्तित्व पनि छन् जसले शारीरिक क्षमतालाई प्रस्तुत गर्दै बलियो उदाहरण दिएका छन् । वा भनौ उनीहरु आफै उदाहरण बनेका छन् । 

यस्तै एक उदाहरणीय पात्र हुन् अरुणिमा सिन्हा । उनी भारतीय नागरिक हुन् ।

हिमाल चढ्न खुट्टा होइन आत्मबल भए पुग्छ भनेर प्रमाणित गरिसकेकी छिन् उनले । अरुणिमा सगरमाथा आरोहण गर्ने पहिलो शारीरिक अशक्तता भएकी महिला हुन् । उनको एउटा खुट्टा छैन ।

उनी जन्मिदै यस्तै जन्मिएकी भने होइनन् । रेलमा यात्रा गर्दैगर्दा केही व्यक्तिहरुले उनको सुनको सिक्री चोर्न खोजे । रोक्ने प्रयास गर्दा उनीहरुले अरुणिमालाई कुदिरहेको रेलबाट ढकेलिदिए । अचेत अवस्थामा रेलको ट्रयाकमा लडिरहँदा ४९ वटा रेल उनको माथिबाट कुद्यो ।

त्यो दर्दनाक घटनाबाट बउरिएपछि उनको जीवन नै फेरियो । उनले विश्वकै सर्वोच्च शिखरको चुचुरो ‘कृत्रिम’ खुट्टाकै सहायताले टेकिन् । अहिले उनी राष्ट्रिय स्तरकी भलिबल खेलाडी पनि हुन् ।

सुधा चन्द्रन

नृत्यको परिभाषा के ? हातपाउ लगायत शरीरका विभिन्न अङ्गलाई संगीतको तालमा लच्काउनु, मर्काउनु । प्राय सबैको उत्तर यसैसँग धेरथोर मिल्न जान्छ । तर, नाच्नलाई खुट्टै बाँकी रहेन भने ?

करियरमा फूलस्टप ?

नो ।

सुधा चन्द्रनले यही पुष्टि गरेकी छिन् । 

३ वर्षको हुँदादेखि नाच्न शुरु गरेकी सुधा ‘भरतनाट्यम’ डान्सर हुन् । आफ्नो जीवन नै नृत्यमा समर्पण गरेकी सुधाले १६ वर्षको कलिलो उमेरमा एक बस दुर्घटनामा परेर आफ्नो खुट्टा गुमाइन् । तर, उनले आफ्नो नृत्यलाई माया मार्न सकिनन् । 

दुर्घटनापछि पहिलो पटक स्टेजमा नाच्दा उनको प्रस्तुति देखेर सबै आश्चर्यचकित भएका थिए । भोलिपल्ट पत्रपत्रिकामा छापियो, ‘बिना खुट्टा गरिएको माइल यात्रा’। 

यसरी कृत्रिम खुट्टाको सहारामा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुति दिइसकेकी छिन् । त्यसैगरी, विभिन्न टेलिभिजनका कार्यक्रमहरुमा अभिनय गरिसकेकी उनले आफ्नै जीवनकथामा आधारित चलचित्रमा समेत अभिनय गरेकी छिन् । 

झमककुमारी घिमिरे

जन्मिदै नसा सम्बन्धि रोग लिएर जन्मिएकी झमक अन्य बालबालिका भन्दा केही फरक थिइन्, शारीरिक र मानसिक दुवै रुपमा । उनको हात चल्दैनथियो, खुट्टा पनि हिँड्न सक्ने अवस्थामा थिएन, प्रष्ट बोल्न पनि नसक्ने अनि मानसिक विकास पनि सुस्त ।

यी सबै अशक्तताका कारण उनी न त स्कुल जान पाइन् न त उनले आफ्ना भाइबहिनी जस्तो व्यवहार नै पाइन् । 

झमकले सुनेर सिकिन्, हेरेर सिकिन्, देखेर सिकिन् अनि महसुस गरेर सिकिन् । माटो उनको कापी भयो र ढुङ्गा उनको कलम । बहिनीका कापी, किताब चोर्दै, माग्दै उनले अक्षर चिनिन्, शब्द बनाउन जानिन् अनि क्रमश वाक्य, अनुच्छेद हुँदै अन्त्यमा सिङ्गो पुस्तक नै रचना गरिन् । ‘

जीवन काँडा कि फूल’ नामक आत्मकथा मार्फत् मदन पुरस्कार जितेकी झमकले केही थान कविता संग्रह पनि प्रकाशन गरेकी छिन् । आफ्नो शाहस र अद्भुत क्षमताको कदरस्वरुप राष्ट्रपति लगायत राष्ट्रका सम्माननीय व्यक्तित्वको हातबाट पुरस्कार र सम्मान प्राप्त गरेकी छिन् । 

Leave a comment