‘वान लेग्ड डान्सर’ नीलम, पीडादायी भोगाइले बनायो साहसिक नृत्याङ्गना (भिडियो सहित)

गोलो अनुहार,गहुँगोरो वर्ण । टम्म मिलेका दाँत अनि सधैं उज्यालो चेहेरा। भित्रैबाट खुसी छिन् भनेर अनुहार बाटै प्रष्ट झल्किने ।

उनलाई हेर्दा लाग्दैन कि कुनै दिन उनको जिन्दगीमा दर्दनाक घटना भइसकेको छ । यस्तो घटना जसले उनको एउटा खुट्टा र सबैभन्दा प्रिय साथी नै खोसिदियो।

१० कक्षामा पढ्ने एक किशोरीको लागि योभन्दा ठूलो विपत्ती के नै हुन सक्छ होला?

तर भनिन्छ नि ‘खाने मुखलाई जुँगाले छेक्दैन’,नीलम ढुङ्गानाले पनि आफ्नो सपनालाई दुर्घटनाको बन्धक बन्न दिइनन् ।

नीलम ढुङ्गाना अर्थात् ‘वान लेग्ड डान्सर’ ।

उनले सपना देखिन् । त्यसलाई पूरा गर्न लागि परिन् ।  अन्ततः देखेकै सपना साकार भयो ।

अहिले उनी नेपालको जाज्वल्यमान नृत्यङ्गनाको रुपमा स्थापित भएकी छिन् । नृत्य गर्नलाई दुई खुट्टा अपरिहार्य छन् भन्ने आम बुझाइलाई गलत सावित गर्दै सबैका लागि हौसला र साहसको उदाहरण बनेकी छिन् नीलम।


 

फ्ल्यासब्याक टु बाल्यकाल….

घरकी कान्छी छोरी भएर पनि होला सानैदेखि अत्यन्तै चञ्चले र चकचके थिइन् उनी। सबैको माया ओखाईपोखाई पाएकी । नाँच्न, गाउन, घुम्न साह्रै सोखिन । जीवन रमाइलै थियो । हरेक किशोरीका जस्तै नीलमले पनि अनगिन्ती सपना सजाएकी थिइन् ।

तर आफ्नो जीवनमा हुन गइरहेको हृदयविदारक घटनाबाट अनविज्ञ थिइन् उनी। २०६४ साल माघ २३ गते सम्झिँदा अहिले पनि उनका आँखा रसाउँछन्, मुटु काम्छ । त्यस्सै मन अतालिएर आउँछ ।

२०६४ साल माघ २३ गतेअर्थात् कालो दिन…

हरेक दिन जसरी त्यस दिन पनि नीलम र उनकी बेस्ट फ्रेन्ड स्कुल जाँदै थिए ।

गफिँदै, हाँस्दै ।

पछाडिबाट हुइँकिदै आएको ट्रकको ठक्करबाट उनले आफ्नी साथी गुमाइन् साथै आफ्नो एक खुट्टा पनि । ‘मेरै काखमा उसले आफ्नो अन्तिम श्वास फेरि । मलाई बचाएर आफू सधैंका लागि गई ।’यसो भन्दै गर्दा मुस्काउँदै गरेका उनका अधर केही साँघुरिए ।

त्यस दिन उनको खुट्टा मात्रै होइन सपनाको उडान भर्ने पखेटा समेत काटिए जस्तै भयो । ‘म होसमै थिएँ । मेरै आँखा अगाडि मेरो खुट्टा छुट्टिएको देखिरहेकी थिएँ । उता साथीको मृत शरीर पनि मेरै आँखा अगाडि थियो । त्यही बेला एक्कासि ‘डान्स’याद आयो। अब कहिल्यै नाँच्न पाउँदिन जस्तै लागेको थियो ।’ 

झरीपछिको आकाश अर्थात् रोदनपछिको हाँसो 

अप्रत्यासित रुपमा यस्तो हृदयविदारक घटना भइसकेपछि नीलमलाई केहीदिन शारीरिक पीडाभन्दा बढी मानसिक पीडाले सतायो। परिवार, आफन्त, ईष्टमित्र स्तब्ध थिए । सबै चिन्तित थिए,नीलमलाई 'डिप्रेसन' हुन्छ भनेर । त्यसैले उनको वरिपरि सधैं सकारात्मक र खुसीभएर प्रस्तुत हुन्थे सबैजना ।

परिवारको माया र साथ पाएर दुर्घटनाको केहीदिनमै नर्मल भइन् नीलम । भन्छिन्, ‘हाँस्न कहिल्यै कन्जुस्याईं गर्दिन म । अस्पतालमा सबै छक्क पर्थे म मुस्कुराएको, हाँस्दै गफ गरेको देखेर ।’

मिलेका दाँत देखाउँदै उनी थप्छिन्,‘आफ्नो वास्तविकतालाई सहजै स्वीकारेँ मैले । त्यसैसँग जिउनु जो थियो जिन्दगीभर’।

यसो भन्दै गर्दा उनको अनुहारमा निराशाको झिनो धर्सा समेत देखिएन ।

'फर्केर हेर्नु परेन'

दुर्घटनापछिको ४ वर्ष सामान्य तरिकाले बित्यो । नीलम धेरैजसो घरमै रहन्थिन् ।

तर उनलाई चारवटा भित्तामा सिमित भएर बस्न पटक्कै मन थिएन। त्यसैले नीलम अपाङ्गता भएका व्यक्तिहरुको विभिन्न संघ संस्थाहरुमा आबद्ध भइन्। त्यसैताका साथीहरुले उनलाई आफ्नो नृत्य जीवनलाई निरन्तरता दिने सल्लाह दिए ।

उनको अन्तरमनले भन्दै थियो, ‘गर्’। यद्यपी यति ठूलो निर्णय एक्लैले लिनलाई उनले साहस जुटाउन सकिनन् । एउटा खुट्टाले नाँच्नु उनलाई असम्भवै जस्तो लाग्यो । 

तर, भनिन्छ नि परिवारको साथ भएमा संसारमा कुनै पनि काम असम्भव हुँदैन । परिवारले यस विषयमा सकारात्मक प्रतिक्रिया दिएपछि अन्ततःउनले ५ वर्षपछि पुनःमञ्चमा गएर प्रस्तुति दिने निर्णय लिइन् ।


 

'माईतीघर'मा छमछमी  

सन् २०१३ डिसेम्बर ३, अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन नीलमले मञ्चमा ‘कमब्याक’ गरिन् ।

‘केही डराएकी थिएँ, केही आत्तिएकी पनि । यस्तो मान्छेले नाँचेको मन नपराउने पो हुन् कि भन्ने दुविधा पनि थियो ।’ त्यो क्षणलाई स्मरण गर्दै उनले भनिन् ।

 

पाँच मिनेट सम्म उनले आफैंलाई बिर्सेर नाँचिन् । सम्झेर नाँचिन् । जब उनले बेहद साहस जुटाइन्, उनले कहिल्यै स्टेज खोज्नुपरेन । बरु स्टेज उनको प्रतिक्षा गरिरहेको छ । नीलम नाच्न थालेदेखि ।

ब्याकग्राउन्डमा ‘माईती घर’ गीतको धुन बज्यो, सबैको नजर टक्क उनमै अडिए । उनका हात आफैं सलबलाउन थाले, कम्मरले आफैं सुर ताल पक्रिँदै गयो, खुट्टा पनि हातसँगै मच्चिन थाल्यो । सूरतालसँग अनायासै उनको शरीर  मर्किन थाल्यो । 

पाँच मिनेट सम्म उनले आफैंलाई बिर्सेर नाँचिन् । सम्झेर नाँचिन् । जब उनले बेहद साहस जुटाइन्, उनले कहिल्यै स्टेज खोज्नुपरेन । बरु स्टेज उनको प्रतिक्षा गरिरहेको छ नीलम नाच्न थालेदेखि ।

हिजोआज उनलाई स्टेजले खोजेको सन्देश र अनुरोधहरु फेसबुकमा आईरहन्छ । अर्थात् आयोजकहरु सामाजिक सञ्जालबाटै उनलाई निम्तो पठाउँछन् ।

नीलम भन्छिन्, 'सामाजिक सञ्जालले मेरो यात्रालाई  निकै मद्दत गरेको छ ।'

यसो भन्दै गर्दा निलम पुलकित हुन्छिन् । मुस्कुराउँछिन् । एकछिन सोच्छिन्।

सोच्दिहुन्, 'घटना नभएको भए म के हुन्थें होला?'

*लोकपथ अनलाईनको लोगो नराखिएको तस्वीर नीलम ढुङ्गानाको फेसबुकबाट लिइएको हो । 

(२०७५ साल साउन ५ गते लोकपथमा प्रकाशन भइसकेको यो सामाग्री अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भमा पुनः प्रकाशन गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?