अन्तर्राष्ट्रिय विमानस्थल बनाउनमा होड, आर्थिक दीगोपनको छैन कुनै ग्यारेन्टी

काठमाडौं । गत आइतबार अर्थात् पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धुमधामका साथ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरे । जसले दशकौँपछि पोखरेलीको सपना पूरा गर्यो ।

चीन सरकारको सहुलियत ऋणमा झण्डै २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थलको उद्घाटन भने कर्मकाण्डीमात्र बन्यो । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा न एउटा अन्तर्राष्ट्रिय उडान भयो न त अवतरण नै । हिमालयन एयरलाइन्सले न्यारोबडी विमानबाट डेमो फ्लाइट त गर्यो । तर, नियमित उडान भने अझै निश्चित भएको छैन ।

नेपाली वायु सेवा कम्पनी बुद्ध एयरलाइन्सले भारतको बनारससहितका तीन स्थानमा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने तयारी गरेपनि भारतीय पक्षले स्वीकृत नदिँदा उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन् । ‘बुद्ध एयरले भारतको बनारसको उडानका लागि अनुमति मागेको थियो तर, भारतले त्यसको स्वीकृतिका लागि ढिलाई गर्दा उडान हुन सकेन,’ उनले भने ।

विमानस्थलको यान्त्रिक परीक्षण गरेको थाइल्यान्डको एरोथाई कम्पनीले परीक्षणको प्रारम्भिक प्रतिवेदन दिए पनि पूर्ण प्रतिवेदन बुझाएको छैन । सो प्रतिवेदन पाएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय उडानका लागि तयारी भएको जानकारी गराउन एरोनटिकल इन्फर्मेसन रेगुलेसन एन्ड कन्ट्रोल जारी गर्ने भूलले जानकारी दिए । जसमा धावनमार्ग, हवाई रुट, नेभिगेसन, उडान व्यवस्थापन प्रणालीसँगै विमानस्थलले प्रदान गर्ने सेवा–सुविधा उल्लेख हुने उनी बताउँछन् ।

त्यसको ४२ दिनपछि मात्र अन्तर्राष्ट्रिय उडानका लागि वैधता पाउने व्यवस्था रहेको छ । ‘हामीलाई क्यालिब्रेसन उडानको पूर्ण रिपोर्ट आइसकेको छैन,’ उनल भने, ‘त्यो रिपोर्ट आएको ४२ दिनमा अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरुले अनुमति माग्न सक्नुहुनेछ ।’

वार्षिक १० लाख यात्रुलाई सेवा दिने गरी ३ हजार ७ सय ९९ रोपनी क्षेत्रफलभित्र बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थको उद्घाटनले एकातर्फ उत्साह थपेपनि निराश गराउने कारणहरु देशभित्रै भेटिन्छन् । त्यसका लागि एकपटक गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै हेरे पुग्छ । झण्डै ४३ अर्बको लगानीमा निर्माण भएको यो विमानस्थलले उद्घाटन भएको ८ महिना लाग्दासमेत अझै पनि लयमा आउन सकेको छैन ।

गत ३ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै कुवेतको जजिरा एयरलाइन्सले उडान सुरु गरेको थियो । सुरुवातमा सातामा तीन दिन उडान भरेको जजिराले पछि दैनिक उडान सुरु गर्यो । यद्यपि, अपेक्षाकृत यात्रु नभएपछि फेरि सातामा तीन दिन उडान भर्दै आएको थियो ।

तर, अहिले भने जजिराको उडान ठप्प छ । ३ पौषदेखि जजिराले भिजिबिलिटीको समस्या देखाउँदै उडान रोकेको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहाल बताउँछन् । त्यस्तै, हिमालयन एयरलाइन्सले पनि चार्टर फ्लाइट फिर्ता लगेको छ । यात्रु अपुग भएसँगै हिमालयनले पनि चार्टर फ्लाइट बन्द गराएको दाहालले बताए । ‘हिमालयन एयरलाइन्सले नेपालबाट मलेसियातर्फ जाँदा १५० जनासम्म यात्रु लग्थ्यो तर, उताबाट रित्तो फर्कन्थ्यो,’ उनले भने, ‘उसले १५ डिसेम्बरबाट चार्टर फ्लाइट पनि बन्द गर्यो । सायद खर्च बढी आम्दानी कम भएर पनि होला ।’

यता जजिराले उडानका बेला १२० जना यात्रु लाने, ल्याउने गरेको थियो । यद्यपि, कहिलेकहीँ खाली पनि जानुपर्ने बाध्यता उसलाई थियो । त्यसैले अहिले जजिराले मौसमको कारण देखाएर उडान ठप्प गराएको हुनसक्ने उनले बताए । ‘खाली उडान गर्नुपर्ने, अप्रेशन कष्ट बढी र मौसमका कारणले जजिराले उडान नगरेको होला भन्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘अब जनवरी १५ बाट पुनः उडान शुरु गर्ने भन्ने जजिराबाट मौखिक जानकारी आएको छ ।’

भारतीय सीमा नजिकै भएकाले यो विमानस्थलको मूख्य उद्देश्य भारतीय नागरिकले पनि यही विमानस्थल प्रयोग गरुन् भन्ने थियो । तर, उनीहरुले यो विमानस्थल प्रयोग गर्नका लागि भारत सरकारले एनओसी लेटर दिनुपर्ने हुन्छ । तर, भारतले एनओसी लेटर दिन मानिरहेको छैन । ‘बिहार, उत्तर प्रदेशका नागरिकले यो विमानस्थल प्रयोग गर्दा हामीलाई फाइदा हुन्थ्यो,’ उनले भने, ‘तर भारतले एनओसी लेटर दिन नमान्दा ती नागरिकले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्न पाएका छैनन् ।’

त्यस्तै, यो अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम ‘आइएलएस’ सञ्चालनमा ल्याउनका लागि भारतीय सरकारको स्वीकृति लिनुपर्ने हुन्छ । मौसम खराबीका बेला भिजिबिलिटी कम हुँदासमेत विमान उडान तथा अवतरण गर्नका लागि आइएलएस जडान गरिएको हो ।

तर, विमानस्थल उद्घाटन भएको महिनौँ बित्दा पनि अवतरण प्रणाली कार्यान्वयनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । आइएलएसको सुविधा लिन भारतीय आकाशको पनि स्वीकृति लिनुपर्ने तर, भारतले त्यसका लागि स्वीकृति नदिँदा समस्या भइरहेको प्राधिकरणका सूचना अधिकारी भूल बताउँछन् ।

विमानस्थलका महाप्रवन्धक दाहालका अनुसार यो ७ महिनाको अवधिमा हालसम्म १ सय ५४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । ‘यो अवधिमा १३ हजार ५ सय ९३ यात्रु नेपाल आएका छन् भने १८ हजार २५ यात्रु बाहिरिएका छन्,’ लोकपथसँगको कुराकानीका क्रममा दाहालले भने, ‘यो अवधिमा जजिरा र हिमालयनसँगै, नेपाल एयरलाइन्स, एरो थाई, ओटार्स लिमिटेड, स्काइलाइन एभिएसन लगायतले उडान भरेका छन् ।’

देशकै ठूलो अनि पुरानो वायुसेवा कम्पनी नेपाल एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनवटा उडान भरेपछि एउटा उडान गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट गर्नका लागि प्राधिकरणले निर्देशन दिएको थियो । विमानस्थलका महाप्रबन्धक दाहाल भन्छन्, ‘नेपाल एयरलाइन्सले काठमाडौंबाट तीनवटा उडान भरेपछि एउटा गौतम वुद्धबाट गर्ने भनिएको थियो तर, अहिले गरेको छैन ।’

साथै, केही अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले शुरुवातमा उडानका लागि रिक्वेस्ट पठाएपनि अहिले भने धमाधम फिर्ता गर्न लागेको दाहाल बताउँछन् । हंगेरीको वीच एयरले सुरुमा चासो देखाएपनि अहिले पछि हटेको छ । त्यस्तै, कतार एयरवेज, फ्लाइट दुवई लगायतले पनि सुरुमा चासो देखाएपनि अहिले भने गुपचुप रहेको दाहाल बताउँछन् । ‘सुरुमा २०-३० वटा देशका वायु सेवा कम्पनीले उडानमा इच्छा देखाएका थिए,’ उनले भने, ‘अहिले केहीले चासो देखाउन छाडे भने कुनै–कुनैले रिक्वेष्ट नै रद्द गरिसकेका छन् सायद उनीहरुले व्यापारिक क्षेत्र महशुश गर्न नसक्दा पछि हटेको हुनसक्छ ।’

लुम्बिनीको गौतम वुद्ध जन्मस्थल रहेकाले वुद्धिष्ट पर्यटकलाई भित्राउने यो विमानस्थलको अर्को लक्ष्य थियो । यद्यपि, सोचेअनुसारको बुद्धिष्ट पर्यटक यो अवधिमा आउन नसकेको महाप्रबन्धक दाहालको भनाई छ । ‘हामीले जुन अनुपातमा वुद्धिष्ट पर्यटक आउलान् भन्ने सोचेका थियौँ त्यो पाएनौँ,’ उनले भने, ‘युरोप र अमेरिकाबाट पनि सोचेजस्तो पर्यटक आउन सकेनन् ।’ सरकारले अन्तर्राष्ट्रिय विमान कम्पनी आकर्षित गर्न विभिन्न सेवा शुल्कमा छुट प्रदान गरेको छ । यद्यपि, यहाँ उडान भर्ने विमान कम्पनीको संख्या भने वृद्धि हुन नसक्नु दुःखद् हो । आखिर नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा किन विदेशी वायु

सेवाको आकर्षण देखिएन ?

नेपाल वायु सेवा निगमका पूर्व महाप्रबन्धक एवम् क्याप्टेन केबी लिम्बु भने अहिले नेपालमा बनेका अन्तर्राष्ट्रिय विमानस्थल मापदण्डअनुसार नै नरहेको दाबी गर्छन् । ‘अहिले हामीसँग सिंङ्गल रन वेका विमानस्थल बनेका छन् जो अन्तर्राष्ट्रिय स्तरको हुनै सक्दैन यो त ५० वर्ष अघिको मोडल हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डको हुनका लागि त कम्तीमा पनि दुईवटा रन वे हुन आवश्यक छ ।’

त्यस्तै, अहिले ‘आइएलएस’को लागि भारतले स्वीकृत नदिएको भन्नु आफैंमा हाँस्यास्पद भएको उनी बताउँछन् । ‘अहिले आइएलएसका लागि भारतले स्वीकृति दिएन भन्ने सुनेको छु,’ लोकपथसँगको कुराकानीका क्रममा लिम्बूू प्रश्न गर्छन्, ‘यस्ता महत्वपूर्ण कुराको स्वीकृत विमानस्थल बनिसकेपछि लिने हो कि बनाउनुभन्दा अघि नै लिने हो ?’

साथै, यदि अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउने हो भने राष्ट्रिय ध्वजावाहक कम्पनीलाई बलियो बनाउनुपर्नेमा उनको जोड छ । ‘आफ्नो भएको राष्ट्रिय ध्वजावाहकलाई चाहिँ घाममा तताएर राखिएको छ अनि अरु देशका वायू सेवा कम्पनीले उडान भर्दिएनन् भन्दै रोइकराई गरेर हुन्छ ?,’ उनी फेरि प्रश्न तेर्साउँदै भन्छन्, ‘यदि नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई दीर्घकालीन रुपमा सञ्चालन गर्ने हो नेपाल वायु सेवा निगमका १५ देखि २० वटा जेट सञ्चालन हुनुपर्छ ।’
त्यसैले अहिले गौतम वुद्धले जुन नियति भोगिरहेको रहेको छ, पोखराको पनि त्यस्तै हालत नहोला भन्न सकिन्न । त्यसैले सरोकारवाला निकायको यतातर्फ ध्यान जान जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?