कविता : देश कहिलै नबन्ने भो हगि ?

शरद पोख्रेल-

देश सम्झेर परदेशमा 

रोइरहनेछ यौवनभर

छटपटाइरहनेछ हर सपनी

सम्झिरहनेछ हर याद

अपितु,बृद्धभत्ता खान मात्र देश फर्कनेछ

अनि भन्नेछ - यो देश कहिलै नबन्ने भो।

***
एक असल देशभक्त कर्मचारी साथी

जो हर समय मिलाएर पुगिरहन्छ

देश बनाउने हरेक आन्दोलनमा -

देशलाई ढुङ्गा हान्न।

देश उज्यालो बनाउने मोर्चामा-

बिजुलीका खम्बा ढलाउन।

कुनैदिन, मैले सोध्छु- केछ हालखबर

जबाफमा भन्छ-

स्याला, यो महिना एकदिन पनि नेपाल बन्द भएन।


***
सरकारले दिन दिन भर बाटोमा

ढुङ्गा हाले जस्तो गर्छ

मेरा छिमेकीले रात रातभर घरको पिढी बनाइसक्छन्,

ग्राभेल छर्कन्छ

अर्को दिन भकारो बनिसक्छ,

बर्षौ पछि तटबन्धको योजना आउँछ

ठूलाबाले त्यसै साल ठूल्दिदीको बिहे टार्छन्,

कुनै दिन चौतारामा सूर्ति माड्दै बसेको भलाद्मी बैठकमा

फेरि उनै बोल्छन्-यो देश कहिलै नबन्नेभो।

***

सडक छेउको ट्राफिक सन्देशको होडिङ बोड

उखेल्नु छ जसरी पनि र बनाउनु छ

भैसी बाँध्ने किलो

धाराको पाइप निकाल्नु छ जसरी पनि र बनाउनु छ

आफ्नै गग्रेटोको निकास।

***

खै के पो हुन्छ बेरोजगार मलाई

जब सडकमा एक्लै हुन्छु-

सडकबत्तीमा मेरो हातको निसाना नापिदिन्छु

सफा भएको ठाउँ नसुहाउँदो लाग्छ

चाउचाउ र बिस्कुटका खोलले सजाइदिन्छु

बगैचाबाट फूलले जिस्काएझैँ देख्छु

गई बदला लिएर नङ्ग्यादिन्छु

हर्न निषेधमा चिच्याइदिन्छु

यहाँ नथुक्नु भनेकोमा पान खाएरै थुकिदिन्छु

र कुनैदिन चारजनाको भलाद्मी गफमा

बडो गर्वका साथ भन्छु- यो देश कहिलै नबन्नेभो।

अचम्ममा पर्छु,
हामीले यति गर्दा गर्दै पनि
यो देश कहिलै नबन्नेभो हगि?
***

Leave a comment