म्याग्दी, ५ कात्तिक – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ ।समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तीन वटा सार्वजनिक शौचालय निर्माण कार्य शुरु भएको हो ।पर्यटक याममा दैनिक ५०० देखि ७०० जना पर्यटक पुग्ने पुनहिलमा व्यवस्थित शौचालय नहुँदा समस्या भएको थियो । पुनहिलको सरसफाइ र पर्यटकको सहजताका लागि रु १७ लाखको लागतमा शौचालय निर्माण कार्य शुरु भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील पुनले बताउनुभयो ।घोडेपानीदेखि पुनहिल जाने पदमार्गको प्रवेशद्वार, नेपाल टेलिकमको टावर रहेको डाँडा र पुनहिल परिसरमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । विशिष्ट व्यक्तिसमेत आउने भएकाले उनीहरुलाई लक्षित गरेर आधुनिक शैलीको शौचालय बनाइने घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाले बताउनुभयो ।आगामी चैत महिनाअघि नै सार्वजनिक शौचालय निर्माण गरिसक्ने लक्ष्य छ । उच्च स्थानमा अवस्थित सो ठाउँमा पानीको सुविधा नभएकाले शौचालयमा प्रयोग गर्न आकाशे पानी संकलन गर्ने व्यवस्था मिलाउन लागिएको छ ।भ्रमणमा आउने पर्यटक र होटल व्यवसायीबाट सहयोग जुटाएर शौचालय निर्माण गर्न लागिएको उपाध्यक्ष पुनले बताउनुभयो । होटल व्यवस्थापन उपसमितिले यसअघि घोडेपानी र पुनहिल जाने पदमार्गमा चार वटा प्रवेशद्वार निर्माण गरेका थिए ।यसैगरी चार किमीभन्दा बढी व्यवस्थित पदमार्ग निर्माण गरेका छन् । गुराँसे जंगलको बीचको डाँडामा अवस्थित पुनहिलबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«ेलगायत १६ वटा हिमाल एकै स्थानबाट अवलोकन गर्न सकिने पुनहिल अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तरगत प्रमुख पर्यटकीय गन्तव्य हो ।घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै दृष्य अवलोकनका लागि पुनहिल जाने गर्छन् । असोज–कात्तिक–मंसिर, फागुन–चैत र वैशाख महिनामा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया