बाँके, ५ कात्तिक – बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको जानकी गाउँपालिकाको गनापुरस्थित बागेश्वरी सिमेन्ट उद्योगमा एकजना कामदारको मृत्यु भएको हो । उद्योगमा मेसिन जडान गर्ने क्रममा माथिल्लो तलाबाट मेसिन खस्दा नवलपरासीको परासी नगरपालिका–९ का २५ वर्षीय सन्दीप जुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । मेसिनमाथिबाट खस्दा गम्भीर घाइते जुवालको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए । यसैबीच सडक दुर्घटनामा परी बाँकेमै एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको वैजनाथ गाउँपालिका–५ रङ्गिला चोकमा भे४प ६८६० नंको मोटरसाइकल राति १२ बजे दुर्घटना हुँदा दैलेख नारायणपुर–९ बासकोटका १९ वर्षीया मंगला सुनारको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकल चालक वैजनाथ–५ का २७ वर्षीय सुजन रावत गम्भीर घाइते भएका छन् । घाइते सुनारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबीच वैजनाथ गाउँपालिकाको रङ्गिला चोक नजिकै एकजना मृतावस्थामा फेल परेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । घटनास्थलतर्फ प्रहरीको टोली परिचालन गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया