‘ए’ डिभिजन लिग : एपीएफको दोस्रो जीत

काठमाडौं । शसस्त्र प्रहरीको 'एपीएफ' क्लबले जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा दोस्रो जीत हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलवार भएको छैँटो चरणको पहिलो खेलमा विभागिय टिम ‘एपीएफ’ले न्युरोड टिम ‘एनआरटी’ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जीत हात पारेको हो ।

खेल शुरु भएको पाँच मिनेट पनि बित्न नपाउँदै एपीएफका लागि युवराज लामाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । लामाले गोल गरेपछि निक्कै आक्रामक खेल खेलेको एनआरटीका लागि खेलको १५ औँ मिनेटमा राजेश परियारले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब एक-एक गोलको बराबरीमा रोकिएका थिए ।

रोमाञ्चक बनेको खेलको ७३ औँ मिनेटमा एपीएफका लागि सुदिप सिख्रकारले गोल गरे । निर्धारित समयसम्म एनआरटीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-१ को हार बेहो-यो ।

जितपछि एपीएफ क्लब ७ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । १ अंक मात्र जोडेको एनआरटी लिगको अन्तिम स्थानमा छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?