अहिले बनेका कुनैपनि विमानस्थल अन्तर्राष्ट्रिय होइनन् : वरिष्ठ पाइलट केबी लिम्बु

लोकपथ
91
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्व महाप्रबन्धक एवं वरिष्ठ पाइलट केबी लिम्बुले अहिले बनेका कुनैपनि विमानस्थल अन्तर्राष्ट्रिय नभएको टिप्पणी गरेका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिसँग कुरा गर्दै वरिष्ठ पाइलट लिम्बुले भैरहवा होस् या पोखरा यी दुबै विमानस्थल अन्तर्राष्ट्रिय भनेर आफूले मान्न नसक्ने जिकीर गरे ।

नेपालले अन्तर्राष्ट्रिय भनेर प्रचार गरे पनि यी दुबै विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरुले नपत्याएको लिम्बुको कथन थियो । जनताको टाउकोमा ऋण भार थोपरेर बनाइएका विमास्थलहरुले ब्याजसम्म तिर्ने आर्थिक योजना बनाउन नसक्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

उनले भने, ‘हो, हवाई उद्योगमा एक खर्ब भनेको कुनै ठूलो रकम होइन । तर त्यसका लागि व्यवसाय सञ्चालन, आम्दानीको स्रोतका उपायहरुको योजना चुस्त र भरपर्दो हुनु पर्दछ । अन्यथा यी सेता हात्ती बन्नेछन् ।’

यस्ता ठूला परियोजनाहरु कमिशन खानकै लागि राज्य सञ्चालकहरुले बनाउन लगाउने गरेको दृष्टान्त दिँदै पूर्वमहाप्रबन्धक लिम्बुले भने, ‘१ प्रतिशतलाई २१ प्रतिशत बनाउन लगाएर कमिशन कुम्ल्याइन्छ ।’

अन्तर्राष्ट्रिय विमानस्थल बनाएर मात्र हवाई सेवा विस्तार र नाफामा नजाने भन्दै उनले यसका लागि आफ्नै देशको राष्ट्रिय ध्वजावाहक हवाई सेवा बलियो बनाउनुपर्ने सुझाव दिए । ‘जबसम्म आफ्नो देशको हवाई सेवा बलियो र सुदृढ बनाइन्न, अर्काको देशको विमान कम्पनी आएर हामीलाई कमाई दिन्छ भन्ने सोच्नु मूर्खतापूर्ण हुनेछ,’ उनले भने ।

नेपालले सीमावर्ती क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै नहुनेमा जोड दिँदै उनले थपे, ‘भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, धनगढी या नेपालगञ्ज कहिँ पनि ठूलो विमानस्थल बनाउनै हुन्न । विदेशीले उसको आकाश प्रयोग गर्न नदिए हामी डुब्ने मात्र हौं ।’

निजगढ विमानस्थलमा धेरै रोइलो नगर्न सुझाव दिँदै उनले भने, ‘यो बनाउन दशकौं ढिला भइसक्यो । बनाउनै पर्दछ । निजगढ बनाइ सकेपछि यही स्तरको अर्को अन्तर्राष्ट्रिय विमानस्थल दाङ–देउखुरीमा पनि बनाउनुपर्छ ।’

कसरी चल्छ त यस्तो विमानस्थल भन्ने प्रश्नमा उनले भने, ‘सक्षम र योजना भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्‍यो नि । किन चल्दैन ? संसारमा नेपालभन्दा कम क्षमताका देशले चलाउन सक्ने हामीले नसक्ने भन्ने हुन्छ र ? यो त राजनीतिक दल, सरकार चलाउने प्रधानमन्त्री र विभागीय मन्त्री इमानदार भए सबै सम्भव छ ।’

‘नेपालको उत्तर र दक्षिण छिमेकी संसारकै आर्थिक गतिविधिका केन्द्र हुन् । हामी ती देशका बीचमा छौं । बफर स्टेटका रुपमा । ती दुबै देशका लगानीकर्तालाई आकर्षित गर्ने हो भने कुन ठूलो विषय हो र ?’ उनको प्रश्न छ ।

अब आएर पोखरा विमानस्थल चलाउन रिठ्ठे डाँडापानी डाँडो काट्ने कुरा गर्नु नीति निर्माण तहमा भएकाहरुले कसरी हँचुवाका भरमा काम गर्छन भन्ने एउटा दृष्टान्त भएको उनको भनाइ छ ।

जलवायु परिवर्तनले दीर्घकालमा पार्ने असर नेपालले भन्दा भारतले बढी ब्यहोर्नु पर्ने भन्दै उनले नेपालमा ठूला विमानस्थल बन्दा कालान्तरमा भारतकै लागि ठूलो सहयोग हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?