काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले बैंक अफ काठमाडूसँगको मर्जरले राष्ट्र बैंकको नीतिलाई सफल बनाएको बताएका छन् ।
सोमबार बैंक अफ काठमाडूसँग मर्जरपछि एकीकृत कारोबारको शुरुवात गर्दै ढकालले २ प्लस २ चार नभइ ५ को लक्ष्यसहित अघि बढेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘दुई प्लस दुई ५ को लक्षसहित मर्जरमा गएकाले हामी मात्रै सफल भएका छैनौँ, नेपाल राष्ट्र बैंकको नीतिलाई समेत सफल बनाएका छौँ ।’
त्यसैगरी ग्लोबलको मर्जरले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत मर्जरमा जान प्रोत्साहन गरेको बताए ।
‘ग्लोबल आइएमइ बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरका लागि प्रोत्साहन गरेको छ ।’ उनले भने ।
मर्जरपछि बैंकको कुल पुँजीकोष करिब ५७ अर्ब, निक्षेप ४ खर्ब १० अर्ब, कर्जा लगानी ४ खर्ब र सम्पति ५ खर्ब माथि पुगेको उनले बताए ।
त्यसैगरी हाल ४ हजार भन्दा बढी कर्मचारीहरुलाई रोजगारी दिएको समेत उनले बताए । त्यसैगरी एकीकृत कारोबारपछि नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै १० प्रतिशत ओगट्ने बैंक बनेको उनको दाबी रहेको छ । साथै बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठूला परियोजनामा लगानी जुटाउनका लािग बैंक सहभागि हुनुपर्ने कठिनाइलाई मर्जरले सहजीकरण गर्ने विश्वास लिएको उनले बताए ।
‘ग्लोबल आइएमइ बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिब १० प्रतिशत ओगट्ने बैंक बनेको छ । बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगे परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागि हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको छु ।’ ढकालले भने ।
विदेशमा दुख गरेर पठाएको पैसालाई रेमिट्यान्सको माध्यमबाट नेपालमा पैसा पठाउनका लागि खोलिएको आइएमी यात्रा आज नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक हुन पुगेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया