जब फिल्ममा ‘क्वालिटी’ को कुरा उठ्छ

काठमाडौं । चलचित्र ‘मेरी मामु’ रिलिज हुनुभन्दा केही समयअघि एक मेकरले सामाजिक सञ्जाल फेसबूकमा एक कथन लेखेर फिल्मले ६ करोडको व्यापार गर्ने ग्यारेन्टी दिए । उक्त फिल्मका सहायक निर्देशकसमेत रहेका किरण आचार्यले लेखेका थिए, ‘चलचित्र मेरी मामु भदौ १५ मै प्रदर्शन हुन्छ र बक्स अफिसमा चलचित्रले कम्तिमा ६ करोडको व्यापार गरेन भने म चलचित्र क्षेत्रमै काम गर्दिन, ‘मेरी मामु’ फ्लप हुन्छ भन्नेहरुलाई मेरो यो पोस्ट स्किृनशट गरेर राख्नुस् ।’

फिल्म रिलिज भयो । र फ्लप पनि भयो ।

किरणको स्टाटस त स्टाटस नै थियो । फिल्म 'फ्लप' भएपछि यसका निर्माता सन्तोष सेनलाई भने राम्रै घाटा लाग्यो । उनी पनि फिल्म यसरी नै हिट हुन्छ भन्नेमा ढुक्क थिए ।

तर, भइदियो फ्लप ।

फिल्मको प्रचार पनि जोडतोडका साथ गरिएको थियो । बजारमा हल्ला पनि पिटिएको थियो । स्कूल–स्कूलमा गएर फिल्मको प्रचार पनि उत्तिकै गरिएको थियो । तर, फिल्मको गुदी नै कमजोर भएपछि फिल्म चल्ने कुरै भएन । बालकलाकार अयुब सेन र नायिका कुसुम गुरुङले अलिकति भए पनि सन्तोष बटुले । निर्देशकीय पक्ष निकै कमजोर भएको भनेर धेरैले गाली गरे ।

फिल्म फ्लप भएको झोँकमा सन्तोष सेनले पनि स्टाटस लेखिदिएका थिए – ‘निर्मातालाई फकाउन जति मेहनत गर्नुहुन्छ, त्यति मेहनत फिल्ममा पनि गर्नुहुन्थ्यो भने फिल्म उद्योगलाई नै फाइदा हुन्थ्यो ।’

सेनले यो बुझ्दा धेरै ढिला भइसकेको थियो ।

भन्ने गरिन्छ, नेपालमा राम्रा मेकर छैनन् । भएका मेकर पनि महंगा छन् । ती मेकरले फिल्म राम्रा बनाउन सक्दैनन् । तर हलसम्म दर्शक तान्न अनेक उपाय अपनाउने गर्छन् ।

जस्तो कि, चलचित्र ‘लिलिबिली’ का बेला निर्देशक मिलन चाम्सले प्रदीप खड्कालाई बडीगार्डसँग ‘इन्ट्री’ गराए । समाचारका शीर्षक नै तिनै भए । तर यो ‘ट्याक्टिस’ चाम्सले फिल्मको हाइप बढाउने मात्रै थियो । फिल्म बन्यो । युवास्टार प्रदीप खड्काले समेत अभिनय गरेकाले फिल्मले राम्रो हाइप पायो । दर्शकको ध्यानसमेत खिच्यो तर फिल्म जब हलमा रिलिज भयो, दर्शकले रुचाएनन् । किनकि, फिल्म हल्लामा राम्रो र मेकिङमा झुर थियो ।

प्रदीपकै अर्को फिल्म ‘रोज’ मा पनि यही प्रकृति दोहोरिएको थियो ।

प्रचारमा ‘रोज’ लाई समेत उछिन्ने गरी एउटै मितिमा रिलिज भएको फिल्म ‘रामकहानी’ पनि मैदानमा उत्रियो । तर, यो फिल्मको पनि प्रचार र हल्लाजस्तो व्यापार रहेन ।

प्रायः सिनेमा यसरी नै हल्ला र गसिपमा रमाएरै सकिएका छन् । मेकरले अर्को फिल्ममा आफ्नो कमजोरीलाई सच्चाउन खोजेको पनि पाइँदैन ।

एक निर्माता भन्छन्, ‘यहाँ सबैको काम निर्मातालाई मात्र डुबाउने हो कि झैँ लाग्न थाल्यो, पैसाले मात्र फिल्म राम्रो बन्ने रहेनछ भन्ने मैले बल्ल बुझेँ ।’

लगानी त फिल्ममा जुट्छ । प्रचारका लागि पनि टन्न पैसा जुट्छ । तर जब फिल्मको ‘क्वालिटी’ को कुरा उठ्छ, तब फिल्ममेकरमाथि प्रश्न उठ्छ । अभिनेता तथा निर्देशक निश्चल बस्नेत भन्छन्, ‘एकाध राम्रा फिल्म नबनेका त होइनन्, तर सबै खाले फिल्मको उस्तै प्रचार भइरहेको हुन्छ, दर्शक झुक्किनुहुन्छ ।’

यी फिल्ममात्र होइन, अहिलेका धेरै फिल्म यसरी प्रचारमै रमाइरहेका छन् । जसको दीर्घकालीन असर फिल्मकर्मी, कलाकार, सिनेमा उद्योग सबैलाई परिरहेको फिल्म क्षेत्रका जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?