काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको पहिलो अधिवेशन सोमबारबाट शुरु भयो । संसदको पहिलो बैठक भएकाले सबै दलका शीर्ष नेताले सदनलाई सम्बोधन गरे ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाएकामा जनता, संसद र गठबन्धन दलप्रति आभार व्यक्त गर्नु स्वाभाविक थियो । र चुनौतीका घेराबीच बनेको सरकार र संसद आफूहरुको परीक्षाको केन्द्र भएको भन्नु नौलो थिएन ।
सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताएर उनले आफ्नो बाटो सहज नभएको स्वीकारे । सांसदहरु जनताको निरन्तर निगरानीमा रहने भन्दै दाहालले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको भन्दै उनीहरुलाई विश्वासमा राख्ने प्रयत्न पनि गरे । मुलुकमा केही हुँदैन भन्ने हीन भावना भएका बेला गरे के हुँदैन भन्ने भावना जगाउनुपर्ने भन्दै प्रधानमन्त्रीले आफूहरुलाई समस्या केलाएर बस्ने छुट नभएको र समाधानको सूत्र पहिल्याउनुपर्ने बताए ।
प्रधानमन्त्रीका रुपमा प्रचण्डले आज भन्ने विषय यिनै थिए । उनले त्यही कुरा भने र सबै दलसँग मंगलबार आफूलाई विश्वासको मत दिउन् भन्ने अपेक्षा राखे ।
संसद बैठकको रमाइलोचाहिँ अहिलेको सत्ता राजनीतिमा सतरञ्जको पासा लडाइरहेका दुई नेता कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको मन्तव्यमा थियो । सूत्रमा थोरै बोल्ने देउवा र लामो समय लिएर बेलिविस्तार लगाउने ओली शैली आज पनि कायमै थियो ।
संसदको ठूलो दलका रुपमा प्रधानमन्त्रीपछि मन्तव्य राख्ने समय पाएका देउवाले आफ्नो नेतृत्वमा नेपालमै पहिलोपटक स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न भएको दाबी गरे । त्यतिसम्म उनको दाबी स्वाभाविक थियो ।
तर, अघिल्लो प्रतिनिधि सभा पूर्ण कार्यकाल चल्ने अवस्था बनाएर संविधानको रक्षा गरेको जस लिँदै पटक पटक संसद विघटन गरेका ओलीलाई छेडखानी गर्न भ्याए । त्यतिमात्र होइन, उनले विशेष परिस्थितिमा १८ महिनाअघि प्रधानमन्त्री बन्ने अवसर आएकामा उक्त सरकार र गठबन्धनले संविधान जोगाएको ठोकुवा गर्दै ओलीलाई च्वास्स घोचिदिए ।
छोटो समय बोलेका देउवाले जाँदाजाँदै, नेपालको संविधान रक्षाको लागि आफू सदैव क्रियाशील रहने भन्दै कांग्रेस प्रतिनिधिसभामा रचनात्मक र जिम्मेवार प्रतिपक्ष बन्ने प्रतिवद्धता पनि जनाए । मुखैमा आएको सत्ताको अवसर गुम्दा पार्टीभित्रै प्रतिरक्षात्मक अवस्थामा पुगेका उनी सदनमा विनम्र देखिए ।
देउवापछि सम्बोधनका लागि रोष्ट्रममा उक्लेका एमाले अध्यक्ष ओली विजयी भावमा देखिए । उनले अहिलेको सरकारको सूत्रधार भएको दाबी मात्र गरेनन्, अघिल्लो प्रतिनिधि सभालाई पटक पटक गरेको विघटनलाई न्यायोचित ठह¥याउने प्रयास पनि छाडेनन् । ओलीले भने, चुनावमा जनताबीच जानु प्रतिगमन होइन, अन्यत्र जानुचाहिँ हो । उनको इशारा देउवातिर थियो ।
त्यसपछि रोष्ट्रममै पहिलो पटक उक्लेका स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अहिलेसम्म भएका सबै भ्रष्टाचारको छानबीन गरिने दाबी गरे । सुशासनमा निकै लामो मन्तव्य सुनाए ।
तर उनले त्यसो भनिरहँदा आफ्नै नागरिकतामाथि छानबीन गरिरहेको गृहमन्त्रालय जिम्मा लिन जाने उनको न्यूनतम नैतिकतामाथि उठेको प्रश्नले भने कुरीकरी गरिरहेझै लाग्दथ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया