नारायणगोपाल, जो गीतमार्फत सधै बाँचिरहे

काठमाडौं । स्वर सम्राट नारायणगोपालको आज २८ स्मृति दिवस । नारायणगोपाल गुरुवाचार्यले नेपाली संगीतलाई सयौँ अजर अमर गीत दिएर हामीलाई छोडेर गइसकेका छन् ।

‘केही मीठो बात गर रात त्यसै ढल्किँदैछ’, ‘पर्खी बसेँ आउँला भनी मेरो उठ्ने पालो’, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘तिम्रो जस्तो मुटु’, ‘म त लालीगुराँस भएछु बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’, ‘यति धेरै माया दिई मनभरि दुःख नदेऊ’, ‘यो सम्झिने मन छ, म बिर्सुँ कसोरी,’ ‘मलाई न नसोध कहाँ दुख्छ घाउ, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ लगायतका सयौँ अजर गीतमा स्वर दिएका नारायणगोपालले छोडेर गएको पनि आज २८ वर्ष भइसकेको छ ।

उनका गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् । उनले गाएका गीतको अहिले पनि उत्तिकै चर्चा हुने गर्छ । अन्य गीतभन्दा विछोडका गीत दर्शकमाझ बढी लोकप्रिय छन् ।

नारायणगोपालको त्यो समय

काठमाडौंको किलागलमा नारायणगोपालको घर थियो । नारायणगोपालका बुबा आशागोपाल गुरुवाचार्य सितार बजाउनमा निपूर्ण थिए । घरमा सांगीतिक माहोल भएकाले नारायणगोपाल संगीतकै आँगनमा हुर्किएका थिए । घरमा अन्य संगीतकार पनि आउँथे । दुई/चार चिलिम गाँजा तान्थे र रातिसम्म संगीतमा डुबेर बस्थे ।

बुबा आशागोपालले नारायणगोपाललाई संगीतमा ल्याउन चाहन्थे । तर नारायणगोपालको भने संगीतमा भन्दा बढी ध्यान गायनमा थियो । उनले मञ्चमा गीत गाउँदागाउँदै चर्चा कमाइसकेका थिए । पछि जब उनी रेडियो नेपालमा पुगे, त्यसपछि उनको लोकप्रियता नेपालभर फैलियो ।

तर, त्यतिबेला रेडियो पनि हुने खानेका घरमा मात्र हुन्थ्यो । सबैले नारायणगोपालका गीत सुन्न पाउँदैनथे ।

मुडी स्वभाव

गीतकार रत्नशमशेर थापाले एकदिन हाँस्दै सुनाएका थिए – नारायण गोपालको स्वभाव फरक प्रकृतिको थियो । जस्तो पायो त्यस्तो गीत उनलाई मन पर्दैनथ्यो । च्यातिदिन्थे ।

नारायणगोपाललाई नजिकबाट चिन्नेले उनलाई रमाइला मान्छे भनेर भन्ने गर्छन् । तर बाहिरी रुपमा भने उनको स्वभाव केही मुडी देखिन्थ्यो । नेपालमा मात्र नभएर छिमेकी देश भारतका नेपालीमाझ पनि उत्तिकै लोकप्रिय नारायणगोपालसँग तस्वीर लिनेहरुको लस्कर लाग्ने गर्थ्यो । उनी तस्वीर खिचाउन मूर्तिझैँ उभिइरहन्थे । जब उनलाई अल्छी लाग्थ्यो । उनी हिँडिदिन्थे ।

‘अहिलेका गायकहरु नारायणगोपालको त एक छेउ पनि छैनन्, नारायणगोपालले जब गाउन शुरु गर्थे, सुनसान हुन्थ्यो, कसैले सानो मात्र आवाज निकाल्यो भने उनले गीत गाउन नै छोडिदिन्थे ।’, गीतकार रत्नशमशेर थापा सुनाउँछन् ।

यदि कुलतमा नफसेको भए

नारायणगोपालले सानैदेखि रक्सी पिउँथे । चुरोट र गुलियो पनि उनको रोजाइमा थियो । यही कारणले गर्दा पनि नारायणगोपालले अकालमा ज्यान गुमाउनु परेको बताइन्छ । मादक पदार्थको अत्यधिक सेवन गरेकाले उनलाई रोगले च्याप्दै लगेको थियो । विभिन्न रोगले च्याप्दै गएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा नारायणगोपालको अस्पतालमै निधन भएको थियो ।

फुटबलप्रेमी थिए नारायणगोपाल

नारायणगोपाल फुटबलमा पनि उत्तिकै चासो राख्ने काशिराम भलजु बताउँछन् । फुटबल भनेपछि मरिहत्ते गर्थे नारायणगोपाल । अहिले नारायणगोपाल संगीत कोषको पनि स्थापना भएको छ उनको स्मृतिमा । नारायणगोपालको घरमा बस्ने काशिरामलाई नारायणगोपालले छोरासमान पालेका थिए । काशिराम सुनाउँछन्, ‘उहाँ वीर अस्पतालमा भर्ना हुँदा पनि फुटबल हेर्न घरमा आउनुहुन्थ्यो, कहिलेकाहीँ काम बिगारे गाली त गर्नुहुन्थ्यो, तर छोरासमान माया पनि गर्नुहुन्थ्यो ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?