थ्रीस्टार ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लियो, च्यासलको दोस्रो जीत

काठमाडौं । थ्रीस्टार क्लब जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

हल्चोकस्थित शसस्त्र प्रहरीको एपीएफ मैदानमा बुधवार भएको खेलमा थ्रीस्टार क्लबले  सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

खेल शुरु भएको ४ मिनेटमा नै सरस्वती क्लबका लागि भिक्टोर आमोबीले पेनाल्टीमार्फत गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । १७ औँ मिनेटमा  थ्री स्टारका रञ्‍जित धिमालले पेनाल्टीमा गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक खेलको ३६ औँ मिनेटमा निराजन खड्काले गोल गरे । पहिलो हाफसम्म २-१ गोल अन्तरले अगाडि रहेको थ्रीस्टारले दोस्रो हाफमा भने गोल गर्न सकेन । जितपछि थ्रीस्टार क्लबले ६ खेलबाट १५ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङ मस्याङ्दी क्लबको १८ अंक छ । 

त्यस्तै बुधवार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले दोस्रो जीत हात पारेको छ । 

च्यासल क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले हराउँदै दोस्रो जीत निकालेको हो । च्यासल क्लबको जीतमा सन्तोष साहुखल एक गोल गरे भने अर्को गोल उपहार पाएको थियो । हिमालयन शेर्पाका लागि निरज बस्नेतले आत्मघाती गोल गरे ।

खेलमा च्यासलका सन्तोष साहुखल म्यान अफ दी म्याच चुनिए । 

यता शेर्पा क्लबका लागि त्रिदेश गुरुङले एक गोल गरे । जितपछि च्यासल क्लबले ६ खेलबाट ७ अंक बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?