प्रिमियरमा  फिल्म ‘प्रसाद’ लाई तारिफै–तारिफ, कसले के भने?

काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ ले तारिफै–तारिफ बटुलेको छ । बुधवार काठमाडौंमा पत्रकार तथा सेलिब्रेटीमाझ गरिएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको हो ।

धेरैले फिल्मको कथा, कलाकारको अभिनय र दिनेश राउतको निर्देशकीय क्षमताको खुलेरै तारिफ गरे । पत्रकार तथा समीक्षकले पनि फिल्म आफूलाई मन परेको बताए । ‘खासगरी गम्भीर फिल्म मन पराउने दर्शकले यो फिल्म रुचाउनुहुन्छ, चलचित्र राम्रो बनेको रहेछ, म्यासेज पनि छ ।’, निर्माता तथा कलाकार दीपकराज गिरीले प्रतिक्रिया दिए ।

यस्तै फिल्म हेरेपछि वरिष्ठ कलाकार भुवन केसीले पनि आफूलाई फिल्मले निकै छोएको र निर्देशकलाई बधाई दिन चाहेको बताए । उनले भने, ‘कमेडी फिल्मको अहिले बजार छ, पारिवारिक ड्रामा यो फिल्मले पनि दर्शकको मन जित्नुपर्छ, फिल्म ‘आउट स्टान्डिङ एण्ड माइन्ड ब्लोइङ’ छ ।’

चलचित्रलाई नेपाल आइडल सिजन २ का प्रतिस्पर्धीले समेत हेरेका थिए । यस्तै फिल्म हेरेर केदार घिमिरे, रेनशा वान्तवा राई, नेपाल आइडलका प्रतियोगी लगायतले फिल्मको खुलेरै तारिफ गरेका थिए ।

चलचित्रलाई लामो समय फिल्म पत्रकारिता गरेका पत्रकार सुशील पौडेलले लेखेका हुन् भने दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्मको मुख्य भूमिकामा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको अभिनय रहेको छ ।

चलचित्रले निःसन्तान दम्पत्तिको जीवनमा आइपर्ने आरोह अवरोहलाई उठान गरेको छ । यस्तै फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन् ।

फिल्म आउँदो शुक्रवारबाट नेपालभर रिलिज हुँदैछ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?