रग्बी विश्वकपको ट्रफी नेपालमा

काठमाडौं । जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी नेपाल ल्याइएको छ । 

विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी लिएर अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डका पाँचजना प्रतिनिधि  नेपाल आइपुगि सकेका छन् । 

अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डको मुख्याल आयरल्याण्डबाट नेपाल रग्बी सङ्घको पहलमा नेपाल ल्याइएको सो ट्रफी मङ्सिर २३ गतेसम्म नेपालमा राखिनेछ । नेपालमा रहँदा विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पु¥याइने कार्यक्रम रहेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए । 

ट्रफी आज सगरमाथाको आधारशिविर लगेर पहिलो प्रदर्शन गरिनेछ । त्यसैगरी मङ्सिर २१ गते विश्व सम्पदा सूचीमा रहेका स्थानहरू स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिनेछ । 

त्यस्तै मङ्सिर २२ गते टुडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारको प्रस्तुतिसँगै स्कूल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ । 

नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक ल्याइएको हो ।  नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो । रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ ।

एशियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?